शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोनाको भ्याक्सिन खरिद गर्न ६० अरब लाग्ने, अब रिपोर्ट २ घण्टामै पाइने

दैनिक नेपाल २०७७ मंसिर ६ गते ९:०४

काठमाडौं, ६ मंसिर । सरकारले १–२ घण्टाभित्रै कोरोना संक्रमणको परीक्षणको रिपोर्ट दिन सक्ने प्रविधि भित्र्याएको जनाएको छ ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शनिबार बिहन अन्तर्वार्ता दिँदै १–२ घण्टाभित्रै रिपोर्ट आउने प्रविधि पनि भित्र्याएको बताए । उनले केही दिनभित्रै त्यो प्रविधिबाट परीक्षण गर्न शुरु गरिने बताए ।

काठमाडौं उपत्यकामा जनचेतनाका कारण कोरोना संक्रमितहरूको संख्या घटिरहेको प्रवक्ता डा.गौतमले दाबी गरेका छन् । ‘हाम्रो एक्लो प्रयासले होइन । जनतामा जनचेतना बढेको छ’, उनले भने, ‘एकअर्काबीच कम्तिमा दुई मिटरको दुरी बनाउने, मास्क लगाउने, बेलाबेला साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने, अत्याबसेक काम नपरी घरबाट बाहिर ननिस्कने गरेकाले संक्रमितको संख्या घटेको छ ।’

डा.गौतमले मार्च महिनासम्म खोप तयार हुने बताए । उनले १२ भन्दा मुनिका बच्चालाई भ्याक्सिन नबनेको बताएका छन् ।

‘१२ वर्षभन्दा मुनिका बच्चालाई भ्याक्सिन बनेको छैन । १२ वर्षभन्दा माथिकालाई मात्रै भ्याक्सिन बन्ने क्रममा छ । ट्रायल भएको छ’, उनले भनेका छन् ।

उनले भ्याक्सिन बन्नेवित्तिकै नेपालमा पनि ल्याउनका लागि गृहकार्य भइरहेको बताएका छन् ।

‘गाभीबाट हामीले कोभ्याक्स फ्यासिलिटीअन्तर्गत भ्याक्सिन ल्याइनेछ । राष्ट्रपतिलाई कन्फरमेसन चिठी आइसकेको छ । स्वास्थ्यलाई बोर्धाथ आएको छ’, उनले भने, ‘कुन भ्याक्सिन आउँछ थाहा छैन । २० प्रतिशत जनालाई त्यो भ्याक्सिन दिइनेछ ।’

प्रवक्ता डा.गौतमले शुरुमा कोभ्याक्समार्फत आउने खोपलाई स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, ५५ वर्ष कटेका नागरिकहरूका लागि मात्र दिइने बताए ।
बाँकी ८० प्रतिशत जनताका लागि पनि खोप ल्याउने प्रक्रिया अगाडि बढाएको उनले बताएका छन् ।

‘बन्ने वित्तिकै भ्याक्सिन ल्याउन भ्याक्सिनको काम गरिरहेका देशहरूलाई परराष्ट्रमन्त्रालयबाट पत्राचार गरिएको छ’, उनले भने, ‘भ्याक्सिन खरिद गर्न ६० अरब रुपियाँ लाग्छ भन्ने अनुमान छ । जीटुजीबाट ल्याइनेछ ।’

भ्याक्सिन राख्नका लागि आवश्यक पर्ने प्रविधिका विषयमा पनि गृहकार्य शुरु गरेको उनले बताएका छन् । माइनस २० डिग्रीसम्मका लागि नेपालमा समस्या रहेको उनले बताए । ‘भ्याक्सिन राख्नका लागि त्यसको व्यवस्थापन गरिरहेका छौँ’, डा.गौतमले बताए ।

कोरोनाका संक्रमितहरू निजी अस्पतालमा जाने गरेका कारण काठमाडौंमा सरकारी अस्पतालहरूका बेड खाली रहेको प्रवक्ता डा.गौतमले बताएका छन् । उनले सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित