शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोनापछि फिल्म निर्देशनको तयारीमा पाण्डे, तनहुँमा म्युजिक भिडियाेकाे छायाँकन

दैनिक नेपाल २०७७ मंसिर ५ गते १०:३८

काठमाडौं । सानै उमेरदेखि फिल्म निर्देशन गर्न शुरु गरेका देवेन्द्र पाण्डेले नयाँ फिल्मको निर्देशनका लागि गृहकार्य शुरु गरेका छन् । उनले फिल्मका लागि कथा, कलाकार र अन्य प्राविधि विषयमा पहिलो चरणको छलफल गरेका हुन् ।

लकडाउन र कोरोना महामारीका बेला ठूलो फिल्महरू छायाँकन हुन सकिरहेका छैनन । विगत ८ महिनादेखि ठूला फिल्महरू छायाँकनमा गएका छैनन् । कोरोनाले गर्दा रिलिजका लागि कुरेर बसेका फिल्महरू पनि हलमा लाग्न सकेका छैनन् ।

कोरोना महामारी अन्त्य हुनेवित्तिकै छायाँकनमा जाने गरेर ठूलो फिल्मको गृहकार्य भइरहेको निर्देशक पाण्डेले बताएका छन् । ‘अहिले कोरोनाको महामारी छ । ठूला फिल्महरू प्रदर्शन हुन सकेका छैनन्’, उनले भने, ‘महामारी अन्त्य हुनेवित्तिकै ठूलो फिल्म बनाउने तयारीमा हाम्रो टिम जुटेको छ ।’

फिल्मको नाम, कथा, कलाकारहरूका विषयमा अझै टुंगो लागेको छैन । नयाँ बन्ने फिल्मको कथा हास्य र एक्सन मिसिएको रहने पाण्डेले बताए । मायाप्रेमभन्दा हास्य र एक्सनका फिल्महरू युवापुस्ताले रुचाउने गरेका कारण त्यस्तै फिल्म बनाउने तयारीमा रहेको उनले उल्लेख गरे ।

नायक निखिल उप्रेती, नायिका निशा अधिकारीलगायतका कलाकारहरू अभिनित फिल्म ‘भिलेन’ केही महिना अगाडि रिलिज भएको थियो । फिल्मले राम्रो चर्चा कमाएको थियो । ‘भिलेन’मा चलेका कलाकार र कथा राम्रो भएका कारण पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ ।

कोरोना महामारीका कारण पछिल्लो समय निर्देशक पाण्डे म्युजिक भिडियोहरूमा व्यस्त छन् । केही दिन अगाडि मात्रै उनी शुटिङ युनिटका साथ तनहुँ जिल्ला पुगेर आधुनिक गीतको छायाँकन गरेका छन् । दमौलीमा उनले आधुनिक गीतको छायाँकन गरेका हुन् ।

युवापुस्ताले रुचाएका गायक प्रताप दासको स्वर, विमल जिसीको शब्द, राजकुमार बगरको संगीत रहेको गीतलाई निर्देशक पाण्डेले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा दलबहादुर थापा, सृजना आलेको अभिनय रहेको छ । विपिन क्षेत्रीले म्युजिक भिडियोलाई खिचेका छन् । म्युजिक भिडियो १÷२ मा रिलिजको तयारीमा छ ।

प्रतिक्रिया
सम्बन्धित