शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काठमाडौंमा ‘दाह्री अंकल’को घरमा हाइप्रोफाइल जुवा, व्यापारीको ७९ लाख ‘लुटपाट’

दैनिक नेपाल २०७७ मंसिर ३ गते १०:५९

काठमाडौं, ३ मंसिर । काठमाडौंमा तिहारका बेला अर्जुन भण्डारी र राजु रिमालको समूहले जुवामा एकजना जग्गा कारोबार गर्ने व्यापारीलाई ठूलो रकम ‘मुर्गा’ बनाएर झ्वाम परिदिएको खुलासा भएको छ ।

भाइटीकाको एक दिन पहिला कात्तिक ३० गते काठमाडौंका ‘दाह्र अंकल’को घरमा सामाखुसीका अर्जुन भण्डारी र माछापोखरीका राजु रिमालले बुढानिलकण्ठका दिलीप लामालाई सेटिङमा जुवा खेल्न बाध्य बनाइ ७९ लाख रुपियाँ झ्वाम परिदिएका हुन् ।

दिलीप लामाले अर्जुन र राजुलाई नगद ५४ लाख तथा ५ लाख र २० लाख गरि दुई वटा चेक समेत दिएका छन् । दुई वटा चेक राजु रिमालको नाममा काटिएको छ ।

बुढानिलकण्ठ नगरपालिका–२ बस्दै आएका दिलीप लामा जग्गाको कारोबारी हुन् । दिलीप लामाले आफूलाई जुवा खेल्न बाध्य बनाएर ७९ लाख रुपियाँ खाइदिएको बताएका छन् ।

उनीहरूको समूहले आफूलाई सेटिङ गरेर जुवा खेलाइ ठगेर ७९ लाख रुपियाँ खाइदिएपछि पीडित दिलीप लामा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा काठमाडौंमा उनीहरूविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

कात्तिक ३० गते दिउँसो सवा १ बजेदेखि शुरु भएको जुवा मंसिर १ गते बिहान साढे १ बजेसम्म चलेको थियो ।

चाइनाबाट ल्याइएको मेसिनरी जडान भएको तास खेलाएर अर्जुन भण्डारीको समूहले दिलीप लामाको ७९ लाख रुपियाँ खाइदिएका पीडितले दैनिक नेपाललाई बताए ।

जुवा खेल्ने क्रममा दिलीप लामालाई अर्जुन, राजुको समूहले १८ वर्ष पुरानो ‘ग्लिनफिडिच’ रक्सी समेत खुवाएका थिए । दिलीपले आफूलाई रक्सीमा केही मिसाएर खुवाएको अनुभूति भएको बताएका छन् ।

अर्जुनले काठमाडौंमा स्नुकर सञ्चालन गर्दै आएका छन् । अर्जुनलाई जुवा खेल्ने क्रममा राजुले लगानी गर्ने गर्छन् । त्यो दिन पनि अर्जुनलाई राजुले नै लगानी गरेका थिए ।

राजुले फोन गरेर दिलीप लामालाई फकाएर जुवा खेल्न बोलाएको आरोप दिलीपले लगाएका छन् । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा अर्जुन र राजुसँग सम्पर्क हुन सकेन ।

सेटिङको जुवामा भाग खानेहरूमा अर्जुन, राजु, नवीन पाण्डे, मनीष श्रेष्ठ रहेका छन् ।

गत वर्षको तिहारमा काठमाडौंमा हाइप्रोफाइल जुवामा प्रहरीले छापा हानेको थियो । त्यस बेला बलराम सापकोटा ‘बले’सहितका ठूला नाम चलेका व्यक्तिहरू पक्राउ परेका थिए ।

यस पटकको तिहारमा प्रहरीले काठमाडौंबाट झिनामसिना जुवाडेहरू पक्राउ गरे पनि ठूलो जुवाडे पक्राउ गर्न सकेको छैन ।

तर, सेटिङमा जुवा खेलाएर लुट्ने समूहको पर्दाफास भएको छ । यो समूहको जुवा काण्डका विषयमा थप समाचारहरू क्रमशः सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित