शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने

दैनिक नेपाल २०७७ मंसिर १ गते २०:३०

काठमाडौं, १ मंसिर । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ ।

फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ ।

दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ ।

मोडेर्नाले यसलाई एउटा ‘ठूलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ ।

यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् ।

कति प्रभावकारी छ ?

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । बाँकीलाई ‘डम्मी खोप’ (वास्तविक खोप होइन) लगाइएको थियो ।

पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो ।

ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए । बाँकी ९० जना ‘डम्मी खोप’ दिइएकाहरू थिए ।

यो खोपले कोरोना भाइरसबाट ९४ दशमलव ५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ । ‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन हो’, मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले भने ।

सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन । तर, प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुःखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ ।

‘कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौं’, इम्पेरिएल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भने ।

भण्डारणमा सहज

मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।

फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो । बीबीसी

प्रतिक्रिया
सम्बन्धित