८ कार्तिक २०८३, आइतबार

लक्ष्मीपूजामा सम्पत्ति देखाउनेहरूले अनिल शाहबाट सिक्ने कि ?

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । तिहार मनाउने क्रममा केही व्यक्तिले भड्किलो बनाउँदा त्यसको सामाजिक, सांस्कृतिक र धार्मिक गरिमामा ह्रास आएको टिप्पणी हुन थालेको छ ।

तिहारको तेस्रो दिन शनिबार साँझ देशभरि हिन्दूधर्मालम्बीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरेर पर्व मनाएका छन्। लक्ष्मीलाई घरमा भित्र्याएका छन् ।

सामाजिक सञ्जाललाई लक्ष्मीपूजाको तस्वीरहरूले रमाइलो बनाएको छ । हेर्नलायक बनाएको छ ।

तर, केही व्यक्तिले लक्ष्मीपूजा गर्दा पैसाले भरिएको थाली, सुनका गरगहना राखेका छन् । हजार र पाँच सयका नोटभन्दा साना नोटनै राखेका छैनन् । यसरी नोटले भरिएको थाली, पैसा वा सुनका गरगहना देखाउँदा त्यसले असुरक्षा बढाउने भनाइ प्रहरीको छ ।

अनिलकेशरी शाह नाम चलेका प्रतिष्ठित बैंकर हुन् । नबिल बैंकका कार्यकारी अधिकृत शाहले पनि लक्ष्मीपूजा गरेको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । तर, उनले लक्ष्मीपूजा गर्दा पैसा देखाएका छैनन् । बरू लक्ष्मी माताको मूर्तिलाई फूलैफूलले पूजा गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

पैसा नै देखाएको तस्वीर सार्वजनिक गर्ने हो भने शाहले कतिसम्म देखाउने सक्ने थिए होला ? तर शाहले त्यसो गरेनन्। उनले धार्मिक परम्परा र विधिअनुसार साधारण तरिकाले लक्ष्मीपूजा गरेका छन् ।

यता, एक जना मोडलले पनि पूजा गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनले पैसाले भरिएको दुई वटा थाली देखाएकी छिन् । त्यतिले मात्र नभएर उनले दुई ठाउँमा पैसाको थुप्रो लगाएकी छिन् ।

ती मोडललाई त्यति धेरै पैसा कहाँबाट आयो ? यो प्रश्न पनि उठ्न सक्छ । त्योभन्दा पनि ठूलो कुरा कुनै चोरले त्यो तस्वीर देखेको रहेछ भने ढोका फोडेर चोर्‍यो भने वा अपराध गर्‍यो भने को जिम्मेवार हुन्छ ?

यी दुई उदाहरण यस कारण दिइएको छ कि लक्ष्मीपूजा गर्दा होस् वा पर्व मनाउँदा धनसम्पत्ति देखाएर प्रतिस्पर्धा गर्नेभन्दा पनि विधि, पद्धति, संस्कार र परम्पराअनुसार गर्दा त्यसको मिठास अर्कै हुन्छ ।

पर्व भनेको परिवारमा सुःख, समृद्धि र भावनात्मक एकता ल्याउनका लागि मनाइने हो । पर्वले बिग्रह वा अपराध निम्ताउनु हुँदैन ।

ती मोडलले फेसबुकबाट सार्वजनिक गरिएको लक्ष्मीपूजाको पैसाको थुप्रो
अनिलकेशरी शाहद्वारा फेसबुक पेजबाट सार्वजनिक गरिएको लक्ष्मीपूजाको तस्वीर