शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘सेल्फ मेडिकेसन’ अर्थात् आफूखुशी औषधि सेवन नगरौं

डा. रवीन्द्र पाण्डे २०७७ कार्तिक २९ गते १०:२०

डा. रवीन्द्र पाण्डे

कोरोना महामारी तीव्र गतिमा फैलिएसँगै भ्रम र हल्ला पनि बढिरहेका छन् ।

महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यही मनोविज्ञानमाथि व्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ ।

विशेषज्ञ चिकित्सकको सल्लाहविना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाको लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एवम् उदासीपनमा प्रयोग हुनेलगायत औषधि आफैले किनेर खानेजस्तो जोखिमपूर्ण काम भइरहेको छ । यी औषधिहरू अस्पताल भर्ना भएको बिरामीलाई सम्बन्धित विज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ । अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ ।

रुघाको लागि एन्टीकोल्ड, ज्वरोको लागि पारासिटामोल तथा जिउ दुख्नेका लागि फ्लेक्सन (Ibuprofen + Paracetamol) यी मध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्यून भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ । एन्टिकोल्डमा पनि पारासिटामोल ५०० मिग्रा मिसाएको हुन्छ । यी मध्ये एउटा मात्र चिकित्सकको सल्लाहमा आवश्यक भए लिनुपर्छ । आफैले सेवन गर्नु हुँदैन । त्यस्तै खोकीको प्रकृति अनुसारको मात्र औषधि चिकित्सकसँग परामर्श गरेर खानुपर्छ ।

कोरोना संक्रमणमा द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक सेवन गर्नु हुँदैन । तर, युट्युब हेरेर वा पसलमा किनेर आफै कडा एन्टिबायोटिक खाँदा त्यसले काम त गर्दैन नै झन् रोगसँग लड्ने क्षमता घट्दछ । चिकित्सकसँग जाँच गराएर मात्र एन्टिबायोटिक सेवन गर्ने र नगर्ने निर्णय हुन्छ ।

इम्युनिटी पावर बढाउने भनेर अनेक कम्पनीका उस्तै भिटामिन सेवन गर्नेको संख्या धेरै छ । यसले पनि हानी गर्छ । विभिन्न अध्ययनले देखाएका छन् । सन्तुलित आहार सेवन गर्ने व्यक्तिलाई कुनै सप्लिमेन्ट वा भिटामिनको आवश्यकता हुँदैन । शरीरमा तत्वको कमी भएमा वा संक्रमण भएमा भिटामिन सी, डी, बी१२ तथा जिंकले फाइदा गर्छ ।

इम्युनिटी पावर बढाउन हर्बल सप्लिमेन्ट तथा आयुर्वेद औषधि पनि अन्धाधुन्द प्रयोग गर्नु हुँदैन । जुन औषधिमा इफेक्ट हुन्छ, त्यसको साइड इफेक्ट पनि हुन्छ । आयुर्वेद औषधिमा साइड इफेक्ट कम हुन्छ । यी औषधि सेवन गर्दा मान्यताप्राप्त चिकित्सक र आयुर्वेद स्वास्थ्यकर्मीको सुझावमा मात्र सेवन गर्नुपर्छ ।

त्यस्तै औषधि किन्दा औषधि व्यवस्था विभागमा दर्ता भएको, उत्पादन मिति र एक्सपायर मिति लेखेको तथा दर्तावाल कम्पनीमा बनेको मात्र सेवन गर्नुपर्छ । यस्ता औषधि सस्तो एवम् उपयोगी हुन्छन् । अरुको देखासिकी गरेर दर्तावाल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहविना जथाभावी जडिबुटीको सेवन गर्नुहुँदैन ।

प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल तथा अन्य नियमित खाइरहेका औषधि चिकित्सकको सल्लाहबिना फेरबदल गर्नु हुँदैन् छोड्नु हुँदैन ।

हरेक औषधि सही तरिकाले चिकित्सकको सल्लाह बमोजिम सेवन गरे अमृतको काम गर्छन भने आफैले किनेर तथा चिकित्सकको सल्लाहविना सेवन गर्दा विषको काम गर्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित