काठमाडौं, २६ कात्तिक । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा केकति व्यक्तिको मृत्यु भयो भन्ने तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नभएको पुष्टि भएको छ ।
नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आधिकारिक मृत्यु घोषणा गर्ने निकाय तोकेको भए पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृतकको संख्या तोकिएभन्दा झन्डै ६ सय कम भएको पाइएको सरकारले नै गठन गरेको एक अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाको अद्यावधिक तथ्यांक फरक परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । स्वास्थ्य मन्त्रालयसमक्ष बुझाएको प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच तालमेल र समन्वय नभएको पाइएको छानबिन समितिका एक सदस्यले जानकारी गराउनुभयो ।
‘स्वास्थ्य मन्त्रालयमा कोरोना संक्रमणका कारण हालसम्म प्राप्त भएको तथ्यांक भनेको स्वास्थ्य कार्यालय, अस्पतालहरु र कहिलेकाहीं पत्रपत्रिकामा आएका तथ्यांकका आधारमा डेटा आउने भयो’, छानबिन समितिका सदस्य तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्नुहुन्छ– ‘नेपाली सेनाकोमा अस्पतालका साथै होम आइसोलेसनमा मृत्यु भएको, बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएकोलाई समेत कोरोना पुष्टि हुने प्रमाणपत्र नबनेसम्म दाहसंस्कार अर्थात् व्यवस्थापन गर्नुहुन्न । स्वास्थ्य मन्त्रालयमा होम आइसोलेसन, बीचमा भएका मृत्युको रिपोर्टिङ नभएको देखिन्छ ।’
यो संख्यालाई नियाल्दा झन्डै ६ सयको फरक पर्छ । त्यसैले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीसीएमसीमा एउटा फम्र्याट नै दिएर उहाँहरुले रेकर्ड गरेको तथ्यांक इपिडिमियोलोजीमा उपलब्ध गराउने र इपिडिमियोलोजीले भेरिफाइ गरेर मात्र स्वास्थ्य मन्त्रालयलाई दिने हुनुपर्छ । के कसरी कमजोरी भयो भन्ने बारेमा रिपोर्टमा प्रस्ट पारेको छ । यो बीचमा समन्वय नपुगेकै देखिन्छ ।
स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे र सीसीएमसीका प्रतिनिधि डा. अरुण न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका बीच समन्वय नभएका कारण कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ६ सयले फरक परेको छानबिन समितिको निष्कर्ष रहेको छ । यस विषयमा स्वास्थ्य मन्त्रालयले छिट्टै नै स्पष्ट पार्ने मन्त्रालयका प्रमुख विशेषज्ञ जनस्वास्थ्य विज्ञ तथा कोरोना फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठ भन्नुहुन्छ– ‘सेनाको तथ्यांक आधिकारिक हो । किनकि सेनाले कोरोना पोजेटिभ भएको रिपोर्ट र वडाको सिफारिस नभई शव व्यवस्थापन नै गर्दैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको तथ्यांकअनुसार १ हजार १ सय २६ जनाको मृत्यु उल्लेख गरेको छ । यो तथ्यांकमा ६ सय थपिने छानबिन समितिको रिपोर्टले प्रस्ट पारेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया