
काठमाडौँ, २२ कात्तिक । गृह सचिव महेश्वर न्यौपानेले दबाव र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई आज यहाँ सम्बोधन गर्दै उनले कानुन र नियमको परिधिभित्र रहेर जनताको सेवामा खटिन आग्रह समेत गरे ।
“नियम र कानुन हेरेर काम गर्नुहोस, कसैको दबावमा नपर्नुहोस्,” उनले भने, “कानुन र कर्तव्य सम्झिएर जनताको सेवा नै कर्मचारीको मूल लक्ष्य हो ।” गृह सचिव न्यौपानेले शान्ति सुरक्षा मजबुद बनाउँदै जीउधनको रक्षाका लागि क्रियाशील रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए। बैठकमा जिल्लास्थित कार्यालयका प्रमुखका अतिरिक्त लमजुङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । –रासस















प्रतिक्रिया