हावाको त्यो अगोधकम्पनमा समेत आफ्नो अस्तित्व रक्षाका लागि अविचलित आत्मा धर्तीको यो मैदानमा संघर्षरत नै रह्यो । त्यो संघर्षले जीवनको अस्तित्वरक्षार्थ भूमिका खेलेको छ । लाग्दछ, उसले धर्तीमा आफ्नो उपस्थितीको सान्र्दभिकतालाई पुष्टि गरिरहेको छ । हावाको त्यो बेग होस् वा प्रकृतिको अन्य निर्मम प्रहार, जे भएता पनि औचित्य पुष्टिका लागि गरिएको उसको त्यो प्रयत्न साँच्चै जीवनको औचित्य खोज्नका लागि बाध्य बनिदियो ।
सदियौँदेखि चल्दै आएको यो नियमनमा भौतिक परिवर्तनलाई मात्र जीवनको साध्य मान्ने हो भने यसले न्याय पाउँदैन । जवसम्म धर्तीमा रहने प्राणीले जीवनका साध्य प्राप्त गर्न सहजताका साथ सक्ने छैनन् तबसम्म भौतिक तथा आर्थिक विकासले मात्र जीवनको औचित्य पुष्टि हुन सक्दैन । अहिलेम्मको मुख्य अनुत्तरित प्रश्नहरू यिनै हुन् । यी अनुत्तरित प्रश्नहरू किन मनमस्तिष्कमा जरा गाडेर बसिदियो ? यसको न्युन समीक्षात्मक मूल्यांकन गर्ने हो भने जीवनमा भौतिक तथा आर्थिक वस्तुको कुनै पनि अर्थ रहँदैन । यहि अर्थ विनाको जीवनले सधैभर घोचिरहयो । कमजोरी ढाक्नका लागि फगत गरिने प्रयत्न लामो समयसम्म रहँदैन तर, जब धर्तीले प्रश्न सोधेको आभास हुन थाल्दछ तब, साँच्चै नै जीवन ! जीवन होइन, निरन्तरतको सानो कण सिवाय अन्य देखिदैन ।
प्रश्नको पहाड मात्र हुने तर, समाधान नहुने प्रवृत्तिले जीवन सहज हुँदैन । यहि पेरिफेरिमा गुज्रिएको पलहरू कहिलेसम्म गुज्रिएलान ? धर्तीमा रहेका हरेकताका आफ्नै अस्तित्व र भूमिका हुन्छ भन्ने तत्तत सत्यता समेत बुझ्न नसक्नेहरूको भीडले घेरिएको सन्दर्भमा यसको निकास कसरी प्राप्त गर्न सकिएला ? सेकेन्डको प्रहर हुँदै समयले नेटो काटेको यथार्थलाई बुझाउन ऐनामा देखिने प्रतिविम्वको प्रयत्नको पनि अर्थ रहेन । सौन्दर्यतामा रम्नका लागि हेरिने ऐनाले वास्तविकता बुझाउन अविरल प्रयत्न गरेता पनि अनुकूलतामा स्वखलित भएको मानव आत्माहरू ऐनाको बनावट परिवर्तन गर्न अभ्यस्त हुन्छन् तर, जीवन बदल्ने सोँच बदल्ने हिम्मत राख्दैनन् । सारमा यहि नै हो ।
थोपाको कणबाट सिर्जित जीवन धर्तीमा नै पुगेर विलिन हुँदासम्मको अवधिलाई जीवन मान्ने भयो भने, यो वीचका अवधिमा धर्तीले कति प्रश्नहरू सोधे होलान् ? पाइला–पाइलामा धर्तीका साधनले अवरोध गर्दा कहिल्यै पनि धर्तीका अनुत्तरित प्रश्नका आभास कसैलाई भयो होला कि नहोला ? धर्ती आफै एकाकार छ, यसो भन्दैमा धर्ती अन्धो छैन, त्यसको अनुभूति कसैलाई भयो कि भएन होला ? थोपाबाट सिर्जित जीवन बाल्यकाल, वयस्क, वुद्ध हुँदै धर्तीमा विलिन भयो । लामो कपाल हुँदा काटेर बाहिरी सुन्दरतामा लिप्त बनियो । चाउरिएको गलालाई तन्काउने बेजोड प्रयत्न गरियो । ऐनामा सुन्दरता खोज्ने नाममा हजारौँ पटक जुँगाहरू काटिए । यति धेरै क्रियाकलाप गरिरहँदा पनि धर्तीले कुनै दिन प्रश्न सोधेको आभास किन भएन ? जीवनका यी चक्रले यावत गति लिएर मृत्यृशैय्यामा रहँदा पनि धर्तीले सोध्ने प्रश्नको हेक्का किन भएन ?
रातको त्यो निष्पट अन्धकारमा पनि धर्तीको त्यो अंगले खेलेको भूमिकालाई लिएर जीवनमा अनेकौ प्रश्नहरू घोत्लिए । अनुत्तरित प्रश्नको त्यो पहाडले जीवन नै पुरिँदा समेत सोँच्न नछाड्ने आत्मिक सहादनहरूले कति समय यसरी नै धर्तीमा अस्तित्वविहीनतामा राख्ने होलान् ? नियमितभन्दा बढि धड्कन शुरु गरेको मुटुको गतिले आफ्नो भूमिका कहिलेसम्म क्रियाशील राख्ला ? सृष्टिको उदयदेखि असंख्या आत्माहरू धर्तीको यो अनुत्तरित प्रश्नले कति धड्केका होलान् ? उनीहरूको सोँचले जीवन र धर्तीको मेलमा कति भूमिका खेले होलान् ?
हरेकतामा जिम्मेवारिता र भूमिका देख्ने मेरो सोँच र नयनले किन आफ्नो जीवनका जिम्मेवारिता बहन गर्न सकेन ? सोँचका निर्मलीकरण समेत सम्भव नहुने आत्मारतीमा हुर्किएको यो आत्मिक क्रियाशीलताको अन्त्य कहिले होला ? सारमा यो भौतिक शरीरले निरन्तर काम गरिरहेको छ । रातको त्यो अन्धकारमा होस् वा दिनको त्यो उज्यालोमा । तर, यहि भौतिक शरीरले गर्ने निरन्तर कामसँगै हामीले गर्ने काम र जिम्मेवारिता किन गरिएन ? जीवनको औतित्य पुष्टि गर्नका लागि दिइएको धर्तीको यो उपहारलाई हामीले कति पूरा गर्यौँ ?
उमेर जति घर्किदै गएको छ, धर्तीले प्रश्न सोधेको आभास प्रवल रुपमा भइरहेको छ । धर्तीले जिम्मेवारिता बहनको प्रश्न टड्कारो रुपमा उठाइरहेको अनुभूति भएको छ । जीवनको यो अवधिसम्मको हिसाव किताव धर्तीले खोजेको कुरा मस्तिष्कमा जरा गाडेको छ । धर्तीमा रहने सम्पूर्ण सजीव र निर्जीव प्राणीले आफ्नो भूमिका खेलिरहँदा मेरो अन्तरमनमा जीवनको जिम्मेवारिता र भूमिकाको असंख्य अनुत्तरित प्रश्नहरू खडा भएका छन् । धर्तीले सोधेका प्रश्नहरूको उत्तर खोज्न सक्ने सामथ्र्य ममा कति रहला ? या त धर्तीमा नै विलिन भएर हार स्वीकार्नुको विकल्प छैन ।













प्रतिक्रिया