बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल माध्यमबाट हुने

दैनिक नेपाल २०७७ कार्तिक १५ गते ९:०२

बागलुङ, १५ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

बैंकको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र केन्द्रीय उपसमितिको शुक्रबार सम्पन्न संयुक्त बैठकले वार्षिक साधारणसभा पहिलोपटक भुर्चअल माध्यमबाट प्रदेशगत रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका–२०७६ अनुसार साधारणसभाको मिति र कार्यसूची तय गर्ने निर्णयमा उपसमिति समेत आमन्त्रण गर्नुपर्ने प्रावधान अनुसार बैंकको केन्द्रीय उप–समितिका सदस्यहरुलाई आमन्त्रण गरिएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

कोरोना (कोभिड–१९) संकटका कारण भौतिक उपस्थितिमा साधारणसभा गर्न सम्भव नभएको र नियामक निकायले समेत यो वर्षको साधारणसभा विद्युतीय माध्यममार्फत गर्न सकिने निर्देशन जारी गरेकाले प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष उप्रेतीले बताए ।

उनका अनुसार बैठकले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म एकाई साधारणसभा र पुस ३ गते मुख्य साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ । बैंकको १७औं वार्षिक साधारणसभा अन्तर्गत प्रदेश नं. १ को एकाई सभा मंसिर २३ गते, प्रदेश नं. २ को मंसिर २४ गते, बागमती प्रदेशको मसिर २५ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते, सुदुरपश्चिम प्रदेशको २८ गते र गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते सम्पन्न गर्ने निर्णय भएको छ ।

एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको छ । सहकारी ऐन, नियमावली र सहकारी विभागले जारी गरेरको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशिका एवम् बैंकको स्वीकृत विनियमावलीका आधारमा एकाइ साधारणसभा गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

उनका अनुसार साधारणसभामा १२ हजार २८३ सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने छ । सदस्यहरुले प्रस्ताव पेश गर्न सक्ने, नियामकीय निर्देशन जानकारी गराउनुपर्ने, संस्थागत प्रतिनिधिको जानकारी सदस्यलाई दिनुपर्ने र विविध शीर्षक राख्न नहुने जस्ता कार्यविधिका मापदण्ड पालना गर्दै यो वर्षको साधारणसभा गर्न लागिएको हो ।

कोभिडको कारण केही समस्या भएपनि साधारणसभाको प्रतिवेदन बैंकको वेबसाइटमा हेर्न र डाउनलोड गर्न सकिनाका साथै तिहारअगाडि नै सदस्यमाझ वितरण गर्ने प्रवन्ध मिलाउन व्यवस्थापनले काम गरिरहेको समेत प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित