
काठमाडौं, १४ कात्तिक । ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ७ सदस्यीय संरक्षक समिति गठन गरेकोछ ।
समाजले एनआरएनए पूर्वअध्यक्ष भवन भट्ट (जापान) लाई प्रमुख संरक्षक मनोनित गरेको छ भने संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त (जर्मनी), एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी), सामाजिक अभियन्ता डा. विष्णुमाया परियार (अमेरिका), ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ (यूके), एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल (फ़्रान्स) र एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने (अमेरिका) लाई मनोनित गरेको छ ।
समाजले कोरोना भाइरसको कारण प्रभावित गोरखा जिल्लाका सबै ९ गाउँपालिका र २ नगरपालिकालाई जनही १ लाखको स्वास्थ्य सामग्री प्रदान गर्ने निर्णय पनि गरेको छ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनय अधिकारीका अनुसार स्वास्थ्य सामग्रीका लागि आवश्यक रकम कार्य समिति, सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिने छ ।
त्यसैगरी, अक्टोबर २४ तारिखमा सम्पन्न समाजको भर्चुअल बैठकले उपाध्यक्षमा रस्मि थापा मगर (क्यानडा), कोषाध्यक्षमा आकाश बन्जारा (हङकङ) र सह–कोषाध्यक्षमा बमबहादुर गुरुङ (यूके) लाई नियुक्त गरेको छ ।
बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्नेगरि ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया