
काठमाडौं, ८ कात्तिक । नेकपाभित्र कति लफडा छ भन्ने कुरा, नेकपाका दुई अध्यक्षको पत्रले छर्लंग पारेको छ ।
कर्णाली प्रदेशमा उत्पन्न विवादको समाधान बिन्दु खोज्न असफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फरकफरक पत्र पठाउनुले नै नेकपाभित्र कुन तहको विवाद छ भन्ने अनुमान लगाउन सकिन्छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले कात्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पत्र पठाउँदै पूर्व प्रमुख सचेतक गुलाबजंग शाहलाई गरिएको कारबाही फिर्ता लिन र पूर्ववत रुपमा प्रमुख सचेतकमा राख्न भनेका छन्।
ओलीको पत्रलाई काउन्टर दिँदै अर्का अध्यक्ष प्रचण्डले पनि शाहीलाई फरक व्यहोरासहितको पत्र पठाएका छन् । उनले पत्रमा प्रमुख सचेतक सम्बन्धी विषय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरेका छन् ।
प्रचण्डले कर्णाली प्रदेशका नेकपा सहइन्चार्ज यामलाल कँडेल, सहइन्चार्जहरु प्रकाश ज्वाला र कालीबहादुर मल्ल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई पनि पत्रको बोधार्थ दिएका छन् ।
पार्टीभित्र अभिभावकको भूमिका खेल्नुपर्ने र एकताको भावनानुसार चल्नुपर्नेमा त्यसबिपरीत दुई अध्यक्षको कार्यशैलीले नेकपाका कार्यकर्ताहरुलाई निराश बनाइदिएको छ । ओली र प्रचण्डकै कार्यशैलीबाट नेकपामा थप तनाव र अन्यौलको बातावरण सिर्जना भएको छ ।
















प्रतिक्रिया