२९ आश्विन २०८३, बिहिबार

म भएको भए चुपचाप लिन्थें

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुशुम भट्टराई

नेपाली कांग्रेस नेता डा. शशांक कोइरालाज्यूले पत्रकारलाई पैसा बाँडेको र अनलाइन खबरका पत्रकारले त्यो पैसा फिर्ता गरेको समाचारबारे केही भन्न चाहन्छु ।

तीस वर्ष लामो पत्रकारिताको अनुभवका आधारमा भन्नुपर्दा दशैंमा पत्रकारले विभिन्न क्षेत्रबाट दारु अनि पैसाका खाम उपहार स्वरुप पाउनु नौलो कुरा हैन । श्रमजीवी पत्रकारलाई तलबले मात्र पुग्दैन, त्यसैले कतिपय हितचिन्तक, दयालु र उदार मनका नेता, कलाकार, उद्यमी मात्र हैन, राजदताबासले समेत रक्सीका बोतल र पैसाका खाम पत्रकारकहाँ पुर्‍याउँछन् । यसको एउटा ठूलो ठेकेदार त हाम्रा धमलाजी पनि हुन् ।

अहिले रिपोर्टर्स क्लवले पनि बियर फयाक्ट्री र डिस्टीलरीका मालिकलाई ‘शान्ति र सहमतिका लागि पत्रकारलाई दर्शै मान्न चाहियो’ भन्दै कार्टूनका कार्टून दारु मगाएर पत्रकारलाई हरेक वर्ष बाँडेको यीनै आँखाले देखे । भारतीय दूताबासले जोनीवाकर रेडलेबल पत्रिकाका अफीस अफीसमा पुर्‍याउँछ । यस्ता केही बोतल त शक्रिय पत्रकारिताका दौरान मैले पनि चप्काउने शौभाग्य पाएँ । छानविन गर्ने हो भने अनलाइनखबरकै मालिककहाँ कहाँकहाँबाट के के उपहार आए होलान्, भन्न सकिन्न ।

कतिपय पत्रकारको त धन्दै हुन्छ, उद्यमी, व्यापारी, तस्कर, भ्रष्ट नेता र हुनेखानेको घरमा कुर्थान हाल्ने र दशैं खर्च माग्ने । यस्ता पत्रकारमा अहिले वरिष्ठ कहलिएका, टिभीमा जनता जान्न चाहन्छन् भन्दै कुर्लनेहरू पनि पर्छन् । अनलाइनखबरकै कुरा गर्ने हो भने शेष घलेदेखि प्रचण्डसम्मको फण्डीङ छ भन्ने गरिन्छ ।

जबसम्म पत्रकारहरु दाता, दूताबास, दलका दलाल र दास हुन्छन्, खाम र दारुका बोतल आउनु कुन अनौठो भयो ? मालिकको चाकडी गर्ने कर्पोरेट दैनिकका सम्पादक भनाउँदाले यस्तै धन्दा गरेर काठमाडौंमा घर, एउटा हैन दुइटा बनाइसके, गाडी किनिसके । श्रमजिवी पत्रकार तलब नपाएर सडकमा आन्दोलन गर्न विवश छन् । त्यस्ता फील्डमा हिँडने श्रमजिवी पत्रकारलाई राहत होस् भनेर कांग्रेस नेता डा.शशांक कोइरालाज्यूले दश पन्ध्र हजार दिनुभयो त यसमा कुन आपत्ति भयो ?

मेरो त कसैसँग खासै चिनजान पनि छैन । शक्रिय पत्रकारितामा नभएकाले कसैले गन्दा पनि गन्दैन । शशांक दाइले मलाई त्यो पन्ध्र हजार रुपैयाँ पठाएको भए मलाई क्या जाती हुन्थ्यो यार ? म त खुसुक्क ‘शँसाक दाइकी जय’ भन्दै हल्ला नगरी त्यो पैसा गोजीमा राख्थें । त्यो पैसा लिएबापत मैले शशांक दाइको गोडा ढोग्नुपर्ने हैन क्यार । यहाँ त १५ हजार फिर्ता गरेको नाटक गरेर ठूला आर्थिक माफीयासँग आर्थिक सेटीङ गर्ने र उनीहरुका एजेन्डा सेटिङ गर्ने अनि उनीहरुका कालो धनलाई सेतो बनाउने कथित ठूला मिडियाका मालिक र तिनका अनुचर सम्पादक पो खराब हुन् । पुलिस बिटैपिच्छे पैसा असुल्ने पत्रकारहरू पनि छन् । गृहमन्त्रालयबाट आसचपु लिनेहरु पनि छन् । ज्ञानेन्द्रकालमा मात्र हैन, अहिले पनि संचार मन्त्रालयको हण्डी खानेहरु छन् ।

पत्रकार महासँघले पनि खै के के भने बाँडदो रहेछ । पोहोर साल गोकुल बासकोटले पनि एमालेवालाहरुलाई टन्नै बाँडे रे । आफुकहाँ त त्यो आउँदैन पनि, माग्न पनि गइैदैन । पोहार साल दशैंमा पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यजीले ‘तपाइलाई दश हजार राखिदिएका छौं’ भन्नुभयो, कुरा के रहेछ भने स्वास्थ्य उपचार खर्च भनेर लिनुपर्ने । अनि मैले महासँघका अनन्य मित्र रामप्रसाद दाहाललाई फोन गरेर भनें, ‘आरपीडी म अहिले स्वस्थ छु, त्यसैले त्यो स्वास्थ्य खर्च लिएको भनेर हस्ताक्षर गरेर दश हजार चाहिँ नलिउँ क्यार ।’
मैले लिइन ।

माया गर्ने मान्छेले सहयोग स्वरुप दिन्छ भने लिनु गलत हैन, तर पत्रकारिताको धर्मबाट च्यूत हुने गरी माफीयासँग मोलमोलाइ पो गर्न भएन त । ब्ल्याकमेलीङ पो गर्न भएन त । शसाँक दाजुको सहयोगलाई म उदात्त भावले लिन्छु । शशांक दाइ मलाइ दिनुस् न, म त सगर्व लिन्छु र लिएँ भनेर स्टाटस पनि हाल्छु । के फरक पर्छ र ? वीपी कोइराला, किसुनजीले पनि कार्यकर्तालाई पैसा बाँडनुहुन्थ्यो ।

किसुनजीले त मनमोहन अधिकारीलाई समेत पैसा बाँडेको मलाई थाहा छ । रेवतीरमण सुवेदी दाइमार्फत एकपटक किसुनजीले बाँडेको पाँच हजार त मेरो गोजीमा पनि परेकै हो, उतिबेला । तर, मै हुँ, किसुनजीले राजनीतिक पीडित कोषको दुरुपयोग गरे भनेर लेख्ने । सहयोगी मनलाई नसरापौं, सँकट परेकाले लिए हुन्छ, दिनसक्नेले दिए हुन्छ । अहिलेसम्म मेरो हातमा चाहिँ कसैबाट परेको छैन । (कुशुम भट्टराईकाे फेसबुकबाट साभार)