२९ आश्विन २०८३, बिहिबार

नेपाल विकास–निर्माणको महाअभियानमा तीव्र गतिमा हिँड्न मात्र होइन, दौडिन चाहन्छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्यक्रमका आयोजक मित्रहरू

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मित्रहरू

नेपालका राजनीतिक दलका नेता तथा सम्पूर्ण सहभागी मित्रहरू !

सर्वप्रथम चिनियाँ राष्ट्रपति महामहिम सी चिङफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसरमा नेपाल र चीनबीचको सम्बन्धको आलोकमा बेल्ट एन्ड रोड इनिसियटिभलाई आधार बनाएर आयोजित अन्तरक्रिया कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको एसिया तथा दक्षिणपूर्वी एसिया ब्युरोका मित्रहरूलाई मनैदेखि हार्दिक धन्यवाद दिन चाहान्छु ।

चिनियाँ राष्ट्रपति महामहिम सी चिङफिङले गत वर्षको अक्टोबर १२–१३ मा औपचारिक नेपाल भ्रमण गरेको एक वर्ष पूरा भएको छ । सन् १९५५ देखि निरन्तर समस्यारहित सम्बन्ध विकास गर्दै आएका दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध महामहिम रास्ट्रपतिको भ्रमणपश्चात् रणनीतिक साझेदारीको चरणमा प्रवेश गरेको छ ।

सन् २०१६ मा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्दा पारवहन सम्झौतामा हस्ताक्षर गरेर नया“ उचाइ हासिल गरेको हाम्रा दुई देशबीचको सम्बन्धलाई यस रणनीतिक साझेदारीले थप उचाइमा पुर्याएको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार र भूराजनीतिक महत्व बढेको छ ।

गणेशप्रसाद तिमिल्सिना

महामहिम सीको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदानभएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्व छ । त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ । यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपना मात्र साकार हुने छैन, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकांक्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्ने छ । गरिबीको चक्रबाट ८० करोड जनतालाई मुक्त गर्दै विकास र समृद्धिको अपूर्व यात्रामा अघि बढिरहेको चीनले गरेको प्रगति विश्वकै लागि चमत्कारिक छ ।

मलाई यतिबेला गत वर्ष महामहिम राष्ट्रपति सीसँग भएको मेरो भेटघाटको स्मरण भइरहेको छ । राष्ट्रपति सीको भ्रमणअघि हाम्रा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्दा सम्पन्न ट्रान्स–हिमालय कनेक्टिभिटीसम्बन्धी सम्झौताले चीन र हाम्रा साझा सरोकारलाई सम्बोधन गर्दछ भन्नेमा दुईमत छैन ।

वास्तवमा कनेक्टिभिटीसम्बन्धी बाँकी जति पनि कामहरू भइरहेका छन् र हुन गइरहेका छन्, तिनको मेरुदण्डका रूपमा त्यही समझदारी रहेको हामीले अनुभूत गरिरहेका छौं ।

सन् २०१३ देखि महामहिम रास्ट्रपति सीको कुशल नेतृत्वमा मित्रराष्ट्र चीनले लिएको बेल्ट एन्ड रोड अभियानबारे केही कुरा राख्न चाहन्छु । आधुनिक चीनले अंगीकार गरेको बेल्ट एन्ड रोड संसारभर सडक र सामुद्रिक सञ्जाल, रेशममार्ग निर्माण गरी व्यापार र मानव आवागमन सहज बनाउने महत्वाकांक्षी योजना हो, जसमा एशिया, अफ्रिका, यूरोप र मध्यपूर्वका सयभन्दा बढी मुलुकले सम्झौता गरिसकेका छन् । नेपालले पनि सन् २०१७ को मे १२ मा बेल्ट एन्ड रोड अभियानमा हस्ताक्षर गरेको कुरा स्मरण गर्न पाउँदा म हर्षित छु ।

अब नेपालले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई अन्तिम रूप दिएर कार्यान्वयनमा जानु पर्ने बेला आएको छ । कोभिड–१९ को महामारीले यसमा केही विलम्ब भए पनि हाम्रा दुवै देशका सरकार यस कामलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने छन् भन्ने मेरो विश्वास छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालले अघि सारेको ‘सुखी नेपालीः समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्नमा बेल्ट एन्ड रोड परियोजनाले अघि सारेका आयोजनाहरूको सफलताले अहम् महत्व राख्ने छ भन्नेमा दुईमत छैन ।

नेपाल विकास–निर्माणको महाअभियानमा तीव्र गतिमा हिँड्न मात्र होइन, दौडिन चाहन्छ । हामीले लामो समयदेखि भोग्दै आएको राजनीतिक अस्थिरता, सुस्पष्ट योजनाको अभाव र बलियो राजनीतिक नेतृत्वको कमी जस्ता कुराले सिर्जित समस्यालाई ऐतिहासिक परिवर्तन, संविधानसभाबाट निर्मित संविधान र तीनै तहमा निर्वाचित स्थिर सरकारका माध्यमबाट पूरा गरेका छौं । त्यही भएर हामी यतिबेला नेपालले आर्थिक र सामाजिक रूपान्तरणको यो महान् अभियानमा मित्रराष्ट्र चीनले समग्र क्षेत्रमा हासिल गरेका प्रगतिबाट सिक्न र सहकार्य गरेर अघि बढ्न चाहन्छौं ।

हामी चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति महामहिम सी चिङफिङको नेतृत्वमा चीनले अझ प्रगति गर्नेमा विश्वस्त छौं । असल र सदाबहार मित्रवत् छिमेकीका नाताले त्यसको लाभ लिनका लागि नेपाल इच्छुक छ । साथै, नेपाल सदाझैं एक चीन नीतिमा दृढ संकल्पित छ भन्ने कुरा पनि विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा, म चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेशनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलनको पूर्ण सफलताको कामना गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा थप मजबुत गर्न सयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

(चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा राष्ट्रियसभा सदस्य तिमिल्सिनाले राखेको धारणा)