बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार २ जना पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक १ गते १९:३२

मकवानपुर, १ कात्तिक । इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमफेदी नगरपालिका ८ का ५१ वर्षीय भीमसेन गाहामगर र ३० वर्षीय रामकृष्ण चुनी मगर रहेको छन् । उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

फरार अभियुक्त खोजी सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दुवैलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाबाट पक्राउ गरेको हो ।

उनीहरूले २०६६ वैशाख २८ गते ललितपुर गोदावरी नगरपालिका १३ को आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी ८ का ३६ वर्षीय दिलबहादुर योञ्जनको हत्या गरेका थिए । योञ्जनलाई उनी सुत्ने कोठाबाहिर कोदालीको बिँड प्रहार गरी हत्या गरिएको थियो।

प्रहरीका अनुसार उनीहरु भागेर भारत गएर अर्कै नामबाट आधारकार्ड बनाएर बसेको थिए ।

दिल्लीमा रामकृष्ण प्लाष्टिक कारखाना र भीमसेन अटो रिक्सा चलाएर बसिरहेका थिए। उनीहरू नातामा मामा भाञ्जा हुन् ।

उनीहरुलाई बाँकेसम्म ल्याउन भारतीय प्रहरीसँग समन्वय गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित