शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाले धेरै पत्रकारहरूको दशैँकाे सूची परिवर्तन

विमल योगी (विनोद) २०७७ असोज ३० गते ७:४२

विमल योगी (विनोद)

एक दिनपछि सबैको घर–घरमा दशैँ प्रवेश गर्दै छ । कोरोना महामारीका कारण यस पटकको दशैँ विगतको जस्तो हुनेछैन । पहिला जस्तो सहज रुपमा घुमफिर गर्ने अवस्था छैन । टीका र आशीर्वाद लिन जान पनि दश पटक सोँच्नुपर्ने अवस्था छ ।

तर, दशैँ मान्नै पर्ने बाध्यता पनि छ । आफ्नै परिवारभित्र दशैँ मनाउन कोरोना महामारीले रोक्नेवाला छैन । दशैँ मनाउँदै गर्दा काठमाडौं उपत्यकाभन्दा बाहिरी जिल्लाका पत्रकारहरूलाई यस पटकको दशैँले तनाब दिनेछ ।

कोरोना महामारीका कारण समस्यामा परेका ती पत्रकारहरूको भान्साको सूची परिवर्तन हुनेछ । किन भने कोरोना महामारीले काठमाडौं उपत्यकामा भन्दा पनि जिल्लाका क्रियाशील पत्रकारहरू झन् समस्यामा छन् । आर्थिक अभाव हुनेछ । आर्थिक अभाव हुनु भनेको सिधै भान्साको सूचीमा प्रभाव पर्नु हो ।

सबै पत्रकारहरू समस्यामा नहुन सक्छन् । तर, जिल्लाका कम्तिमा पनि दश प्रतिशत क्रियाशील पत्रकारहरूलाई यस पटकको दशैँ तनाबपूर्ण हुनेछ । पत्रकारितामार्फत घरखर्च चलाउँदै आएका पत्रकारहरूलाई धेरै कुराहरूमा खुम्चनुपर्ने अवस्था रहेको छ । परिवारमा मीठो खाने, राम्रो लगाउने विषयमा पत्रकारहरूलाई कोरोनाले समस्या बनाइदिएको छ ।

घरपरिवारले कोरोनाका कारण समस्या छ भन्ने कुरा बुझेका छन् । तर, बुझे पनि बालबच्चाहरूले कोरोनाको महामारी छ भन्ने कुरा बुझ्दैनन् । साना बालबालिकाहरूले जसरी हुन्छ मीडोमसिनो खानै पर्छ । राम्रो कपडा लगाउनै पर्छ । मासु खानै पर्छ ।

जिल्लामा क्रियाशील एफएम, अनलाइन र पत्रिकाका पत्रकारहरू जोखिममा छन् । धेरै पत्रकारहरू कोरोनाबाट संक्रमित समेत भएका छन् । संक्रमणबाट निको भएका ती पत्रकारहरूलाई आफ्नो घर खर्च चलाउन झन् समस्या परेको छ । समस्यामा परेका पत्रकारहरूलाई सरकारी तवरबाट कुनै राहत दिइएको छैन । सरकारले पत्रकारहरूका विषयमा राहतको स्पष्ट नीति बनाउन नसक्दा पत्रकारहरू झन् समस्यामा परेका छन् ।

सञ्चारगृहहरू कोरोनाले गर्दा समस्यामा परेका छन् । त्यसको प्रभाव पत्रकारहरूलाई परेको हो । जिल्लाका धेरै पत्रकारहरूले आधा तलबमा काम गर्नुपरेको बाध्यता छ । जिल्लाबाट केन्द्रमा रिपोर्टिङ गर्ने पत्रकारहरूको हालत पनि त्यस्तै छ । आधा तलब पनि समस्यामा पाउँदैनन् । दशैँमा जिल्लाका धेरै पत्रकारहरूको दशा नै हुनेवाला छ ।

हुन त ईञ्जाले समस्यामा परेका केही पत्रकारहरूलाई सहयोग गर्दै पनि आएको छ । बिरामी परेका, समस्यामा परेका पत्रकारहरूलाई विभिन्न माध्यममार्फत आर्थिक सहयोग गर्दै आएको छ । यस्ता संस्थाहरूका कारण क्रियाशील पत्रकारहरूलाई थोरै भए पनि राहत पक्कै पुग्नेछ । ईञ्जाले लक्षित पत्रकारहरूलाई बेलाबेला सहयोग गर्नु सकारात्मक पक्ष पनि हो ।

प्रतिक्रिया
सम्बन्धित