शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

म अर्थ मन्त्रालयमा डुबेर अर्थतन्त्र उकास्छु : अर्थमन्त्री पौडेल

दैनिक नेपाल २०७७ असोज २९ गते १७:४३

काठमाडौँ, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अर्थ मन्त्रालयमा डुबेर अर्थतन्त्रलाई उकास्ने बताएका छन् ।

उनले आफू अर्थमन्त्रालयमा डुबेर अर्थतन्त्र उकास्ने गरी नयाँ जिम्मेवारीका साथ सिंहदरबार प्रवेश गरेको बताएका हुन् । पदभार ग्रहणपछिको भाषणमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चुनौतीलाई पार लगाउने गरी म यहाँ आएको छु ।’

‘मैले मन साट्ने भाषामा के राख्न चाहन्छु भने, मेरा कामका सीमा छन् । म लाग्छु त्यहीँ डुब्छु । त्योभन्दा बाहिर पनि संसार छ। त्यहाँ पनि ध्यान दिनुपर्छ भन्नेमा म अलि कम हेक्का राख्छु,’ उनले भने, ‘जता लाग्यो त्यहीँ डुब्ने बानी छ। म अर्थ मन्त्रालयमा डुब्ने गरी आएको छु ।’
त्यसैगरी पौडेलले आफू एक्लैको पहलले चुनौति सामना गर्न नसकिने भन्दै कर्मचारीलाई त्यसैअनुसार खट्न निर्देशन दिए ।

‘मलाई राम्रोसँग थाहा छ, सफलताको पुँजी मेरो खल्तीमा छैन, तपाईंहरूको खल्तीमा छ। तपाईंहरूले सफलताको पुँजी झिकेर घुमाउनु भयो भने त्यसबाट उपलब्धि हुन्छ। अन्यथा सफलता टाढा छ,’ उनले भने।

उनले परिस्थिति अत्यन्तै गम्भीर भएको बताउँदै परिस्थितिसम्मत ढंगले हामी अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ कर्मचारी, राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड र बीमा समितिका अध्यक्षलाई मात्रै सहभागी गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित