बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्स फेरि उक्लियो शीर्ष स्थानमा

दैनिक नेपाल २०७७ असोज २९ गते ६:५१

काठमाडौं, २९ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

सो खेलमा दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाउँदै १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य भेट्टाउन राजस्थान १३ रनले पछि पर्दा उसले हार व्यहोर्नु परेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकीय पारि खेले । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन । खाता नै नखोली पृथ्वी श आउट हुन पुगे । टिमको स्कोरबोर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए ।

सुरुकै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । त्यसपछि श्रीखर धवन र श्रीयस अय्यरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारि खेलेका धवन आउट हुन पुगे । धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएर आउट भएका हुन् । तर धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी भने बनेका छन् ।

त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान अय्यर पनि अर्धशतकिय पारीका साथ बिदा भए । उनले ४३ बलमा तीन चौका तथा दुई छक्काको सहारमा ५३ रन बनाए । मार्कस स्टोनिस १८ तथा एलेक्स केरी १७ रन बनाएर आउट हुँदा अक्सर पटेल पनि ७ रनमा पभेलियनको बाटो लागे ।

राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए । कार्तिक त्यागी र श्रीयस गोपालले एकरएक विकेट बाँडे । जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ६१ रनमा रोकियो । ३७ रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४० रनमा दोस्रो खेर फालेको थियो । उसको स्कोर एक सय १० रन हुँदा पाँच विकेट झरेको थियो ।

राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१, सञ्जु सामसानले २५ रन बनाए । यस्तै रविन उथप्पाले ३२ रन जोडे । राजस्थानका कप्तान स्टिभ स्मिथ एक रनमा आउट भए भने रियान प्राग पनि एक रनमा रनआउट भए । अन्तिममा राउल टेवाटियाले १४ रन बनाए पनि टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । दिल्लीका लागि तुसार देशपाण्डे र एनरिच नोर्जीले दुई/दुई विकेट लिए ।

जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।

प्रतिक्रिया
सम्बन्धित