
जाजरकोट, २८ असोज । जाजरकोटमा तत्कालीन एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुबीचको एकता टुंगो लागेको छ ।
एकता प्रक्रियाप्रति अनेरास्ववियू केन्द्रीय निर्वाचन आयोग सदस्य शेखर बोहरा र अनेरास्ववियु जाजरकोट जिल्ला सचीव रामचन्द्र घर्तीले असन्तुष्टि जाहेर गरेका छन् ।
होटेलको बन्द कोठामा निजी स्वार्थले निर्मित अनेरास्ववियू जिल्ला कमिटी किमार्थ स्वीकार नगर्ने बोहराले बताएका छन् ।
साविकको जिल्ला कमिटीमा क्रियाशील भएर काम गरेका साथीहरूलाई बाइपास गर्दै बनेको नयाँ जिल्ला कमिटीले काम गर्न नसक्ने भन्दै बोहराले केन्द्रीय कमिटी संयोजक ऐन महरलाई मंगलवार असहमतिपत्र बुझाएका छन् ।
अवैज्ञानिक र अवैधानिक ढंगले टुंग्याइएको कमिटीको पुनः छलफल गरेर गुटगत मानसिकताबाट माथि उठी नयाँ कमिटी बनाउन उनले माग गरेका छन् ।
तीन दर्जनभन्दा बढी सदस्यहरुको असहमति लिएर बोहरा अनेरास्ववियू केन्द्रीय कमिटी संयोजक ऐन महरकहाँ पुगेका छन् । विद्यार्थी संगठनलाई बद्नाम गराउने काम भएको बोहराले आरोप लगाएका छन् ।
अनेरास्ववियू जाजरकोटमा प्रदिप खड्का संयोजक, कृष्णबहादुर सिंह सह–संयोजक रहने गरी ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । यस्तै, अनेरास्ववियु जाजरकोटमा १६ सदस्यीय सचिवालय सदस्य रहनेगरी गठन गरिएको हो ।
यस्तै, अनेरास्ववियू जाजरकोटले पालिका स्तरीय कमिटी समित टुंगो लगाएको छ ।
















प्रतिक्रिया