१ कार्तिक २०८३, आइतबार

जाँदाजाँदै हमालको त्यो निर्णय, जसले सिम्तालाई न्याय गर्यो !

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २८ असोज । सिम्ता गाउँपालिकाकाका प्रशासकीय प्रमुखको जिम्मेवारीमा करिब ३ बर्ष ७ महिनासम्म काम गरेका जनकबहादुर हमालको विदाइ कार्यक्रम सोमबार थियो ।

दुई हप्ताअगाडि नै आफू २०७७ असोज २६ गते सोमबारका दिन सिम्ता गाउँपालिकाबाट बिदा हुने हमालले बताइसकेका थिए । गाउँपालिकाले त्यही अनुरुपको तयारी गरेको थियो ।

सोमबार बिहान कार्यालयमा सबै कर्मचारीहरुको अनुहार मलिन देखिन्थ्यो । स्वयं जनक हमालको अनुहारमा पनि मलिनता देखिन्थ्यो । उनलाई गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसी, कर्मचारीहरु र अन्य जनप्रतिनिधिहरुले औपचारिक कार्यक्रम राखेर बिदाई सोमबार गरे ।

सिम्ताको बासिन्दा भएर आफ्नै गाउँपालिकामा प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्न पाउनु हमालका लागी अत्यन्तै चुनौतीपूर्ण थियो । केही हिसाबले सहज पनि थियो ।

आफ्नै दाजुभाइ, दिदिबहिनी तथा इस्टमित्रहरुका दैनिक प्रशासनिक कामकारबाहीमा लाग्दै गर्दा नियममा बाँधिएर सेवा दिनुपर्ने अबस्था रहेको कारण कयौं कामहरू बिधि प्रक्रिया नपुगेका कारण रोक्नुपर्ने हुन्थ्यो जसले अप्ठ्यारो परिस्थिति सिर्जना हुन्थ्यो, सेवाग्राही रुष्ट हुन्थे । आफ्नै चिनजानको मान्छे भएर पनि मिलाएर काम नगर्दिएको गुनासो आइरहन्थ्यो ।

अर्कोतर्फ चिनजानका सेवाग्राही भएका कारण हमाललाई सम्झाउन बुझाउन सहज पनि थियो ।

देश संघीय ढाचामा गएपछि बनेका स्थानीय तहहरुलाई ब्यवस्थापन गर्न सहज थिएन । सिम्ता गाउँपालिका स्थापना भएपछि उनले प्रशासकीय प्रमुखको जिम्मेवारी प्राप्त गरे ।

स्थानीय तहमा कानुन बनाउने देखी प्रशासनिक आधार तय गर्न हमालले नेतृत्व गरे । राजनीतिशास्त्र र ग्रामीण बिकास दुबै विषयमा स्नातकोत्तर गरिसकेका हमालले कानूनतर्फ बीएलएलबी समेत अध्यन गरिसकेका छन् ।

कानून, राजनीति र ग्रामीण विकास आदि सबैको ज्ञान राख्ने भएका कारण हमालले प्रशासकीय प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको प्रकाश चन्दले बताए । चन्द सिम्ता गाउँपालिकाको सूचना अधिकारी छन् ।

जनक हमालले सबैलाई सन्तुलनमा राखेर सेवा प्रवाह गरेको स्थानीय युवा नेता धनराज परियारले बताए ।

राजनीतिक वृतमा हमाललाई पारिवारिक पृष्ठभूमिका कारण नेपाली काङ्ग्रेस निकट भनेर चिनिन्थ्यो । उनलाई समानन्तर सत्ताको अभ्यास गरेको भनेर समेत प्रचार नभएको होइन । तर पनि हमालले कुनै राजनीतिक पूर्वाग्रह नराखेर सबैलाई समान ब्यबहार गरेको स्थानीय बताउँछन् ।

हमालले आफ्नो कार्यकालमा आफूले भ्याएसम्म सबैलाई समानता र न्याय पक्षमा रहेर काम गरेको बताएका छन् । बिदाइ कार्यक्रममा हमालले भनेका छन्, ‘सिम्ताली जनताहरुले दिइएको न्यानो माया सदा मन मुटुमा रहि रहनेछ र अवसर पाए र भाग्यले साथ दिए तपाईंहरुले लगाएको गुण र ऋण जिन्दगीको कुनै पनि मोडम तिर्ने बाचा गर्दछु ।’

उनले बिदा हुँदै गर्दा पनि सिम्ताली जनताको उन्नति र प्रगतिका लागी सदैव आफू लागिरहने बाचा गरेका छन् ।

हमाल मालपोत कार्यालय सुर्खेतमा सरुवा भइसकेका छन् । उनी संघीय सरकारका अधिकृत हुन् ।

बिदाई हुँदै गर्दा उनले निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी भुपेन्द्र भण्डारीलाई दिए । भण्डारी नेपाल सरकारको छैटौं तहका कर्मचारी हुन् । जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत कृष्ण पन्त सिम्ता गाउँपालिकाको प्रशासकीय प्रमुखको रूपमा आउने भएका छन् ।

जाँदाजाँदै हमालले भुपेन्द्र भण्डारीलाई निमित्तको जिम्मेवारी दिएर सिम्तालाई न्याय गरेका छन् । गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसी र ऊनी निकट निर्माण व्यावसायीहरु आफ्नो मान्छेलाई राखेर लामै समय निमित्तको भरमा गाउँपालिका चलाउने योजनामा थिए ।

त्यही अनुरुप गाउँपालिकामा कार्यरत सुब्बा टोपबहादुर रावतलाई निमित्त प्रशासनिक प्रमुख बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने दाउ हेरेर बसेकाहरूलाई हमालले चक्मा दिएका छन् ।

रावत प्रशासनिक रूपमा अडान लिन सक्दैनन् । उनले राजनीतिक दबाब र कर्मचारीहहरुलाई नेतृत्व गर्न नसक्ने भएका कारण भुपेन्द्र भण्डारीलाई निमित्तको जिम्मेवारी दिएको पाइन्छ । रावतलाई प्रभावमा राखेर आफ्नो स्वार्थ सिद्ध गर्न सक्ने खतरा टरेको छ ।

नयाँ आउने प्रशासकीय प्रमुख पन्तलाई स्वास्थका कारण सदरमुकाममै रोकेर निमित्तका भरमा मनलाग्दी गाउँपालिका चलाउने योजना विफल भएको बताइएको छ ।