मंगलबार, ४ कार्तिक २०७७
DainikNepal.com
मंगलबार, ४ कार्तिक २०७७

कोरोना भाइरस संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु

दैनिक नेपाल २०७७ असोज २५ गते १०:१८

लन्डन, २५ असोज । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्यान्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४० हजार ७३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख ५ हजार ६८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ७४ हजार २५२ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो ।

हालसम्म नेपालमा ६१४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित