१ कार्तिक २०८३, आइतबार

मन्त्री चौधरी भन्छन्– बुटवलको पक्षधर रहे पनि पार्टी अनुशासन मानेका हौं

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २५ असोज । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहे पनि पार्टी अनुशासन कायम राख्न दाङ्को पक्षमा मतदान गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासित पार्टी भएकै कारण जनताले विश्वास गरेको पनि उनले बताए । राष्ट्रिय युवा संघ नेपाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कमिटीको शनिबार बर्दघाटमा भएको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राजधानीका लागि बुटवललाई पनि दुई तिहाई मत नपुग्ने स्थिति रहेकाले पार्टीले ह्विप लगाएको र मतदानमा पार्टीका कुनै पनि सांसदले ह्विप उल्लघंन नगरेको दाबी गरे ।

नेकपाका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी सह–इञ्चार्ज तथा जिल्ला इन्चार्जसमेत रहेका मन्त्री चौधरीले बुटवल राजधानी हुने अवस्था नभएपछि बुटवल भैरहवालाई वित्तीय राजधानी तथा कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई सांस्कृतिक पर्यटकीय राजधानी बनाउने प्रस्ताव पनि आफैले गरेको बताए ।

राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका केन्द्रीय वरिष्ट सदस्य किरण पौडेलले संघका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य एवं स्थानीय तह कमिटीका संयोजक सहसंयोजकहरुलाई सपथ खुवाए ।

युवा संघको गत फागुनमा एकिकरण भई ७१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको थियो । जसको संयोजकमा युवराज डुम्रे र सहसंयोजकमा दीपक राना छन् ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, राष्ट्रिय युवा संघका केन्द्रिय वरिष्ठ सदस्य किरण पौडेल, केन्द्रिय सचिवालय सदस्य केयर सिंह कुंवर, केन्द्रीय सदस्य प्रकाश भट्राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।