शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआरएनए ज्ञान सम्मेलन : ‘कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

दैनिक नेपाल २०७७ असोज २५ गते ८:०९

लण्डन, २५ असोज । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन् ।

‘सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो’, गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा. तुलाधारले भन्नुभयो ।

शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६०० जनाको ज्यान गएको र संक्रमितको संख्या १ लाख नाघेको बताए ।

सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रति सुरुदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सीसीएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको बताए ।

‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ । जिम्मेवार नेतालाई थाहा छ । तर हामी इमान्दार छैनौं’, उनले भने ।

विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसीयू बेड पाउन नसकिने अवस्था आइलागेको बताए । ‘अब काठमाडौंमा कोभिड, ननकोभिड कसैले पनि आइसीयू बेड पाउनेवाला छैनन्’, उनले भने, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।’

उनले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए । विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे ।

यस्तै पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताए । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका कामै हुन नसकेको उल्लेख गर्दै डा शर्माले सरकारले सही कदम चाल्न नसकेको बताइन् । ‘यस्ता महामारी निन्त्रणको नेतृत्व चिकित्सक, विज्ञले नै गर्नुपर्छ’, उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित