
काठमाडौं, २५ असोज । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।
एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् ।
यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।
त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी १५ चैतदेखि नै खाना खान खुला मञ्च आइरहेकी छिन् । पम्फाको सहारा तीन र नौ वर्षकी दुई छोरी हुन् । श्रीमान्ले छाडेको धेरै भयो । सानी छोरीको मुटुमा प्वाल छ । किलागलमा भाडाको कोठा छ । त्यहीबाट हरेक महिना छोरीको उपचारमा गंगालाल धाउने उनी भात खान भने खुला मञ्च आउँछिन् ।
‘श्रीमान्ले छाडेको धेरै भयो, सहाराका लागि दुई छोरी छन् । एउटीको मुटुमा प्वाल छ, कोरोनाले पेट पाल्नै नसक्ने अवस्था भयो, महामारी सुरु भएदेखि नै खाना खान खुलामञ्च आउने गरेकी छु,’ थापाले भनिन् ।
खुलामञ्चमा गत चैतबाटै खान खान आउने गरेका अर्का व्यक्ति हुन्, धनबहादुर कार्की । उनी वीर अस्पतालको गेट आसपासमा सधैं र सबैले देखेका अनुहार हुन् । उनी हरेक दिन खाना खान त्यहाँ पुग्छन् ।
‘कोरोनाले गर्दा सडकमा भोकभोकै हुनुपर्ने अवस्था आयो, चैतदेखि नै खाना खान यहाँ धाइरहेको छु, भोको पेट भर्न खुलामञ्च सहारा भएको छ,’ उनले भने ।
यसैगरी, खाना खानकै लागि खुलामञ्च आइरहेकी छिन् सीता चौलागाईं । श्रीमान्ले अर्को महिलासँग सम्बन्ध बनाएपछि उनी पनि सहाराविहीन छिन् । ७ वर्षको छोरा भने साथमै छन् । उनी नजिकैको महांकाल मन्दिरमा बस्छिन् र हरेक दिन छोरासहित खाना खान खुलामञ्च आउँछिन् ।
‘बाबुले छाडेदेखि नै जेठो छोराको मानसिक अवस्था ठीक छैन, उसलाई मामाहरूले अस्पतालमा राखिदिएका छन्, श्रीमान्ले यसलाई पनि एक वर्षको हुँदा छाडेको, यसलाई लिएर म काठमाडौंको सडकमा बस्छु, मागेरै पाल्छु, खुवाउँछु,’ उनले ७ वर्षका छोरा देखाउँदै भनिन् ।
खुलामञ्चमा कोरोना संक्रमण सुरु भएदेखि नै खाना खुवाउने अभियान सुरु गरेका हाम्रो टिम नेपालका संयोजक विमल पन्तले असहाय, गरिब तथा विपन्न वर्गको सेवामा निरन्तर सहभागी हुन पाउँदा राज्यप्रतिको जिम्मेवारी महसुस गरेको बताए ।
‘हाम्रो अभियान भनेको कोही भोकै नपरून्, कसैले भेदभाव सहन नपरोस् र समानता कायम होस् भन्नका लगि हो, हामी त्यतातर्फ केन्द्रित छौं,’ उनले सुनाए ।
हाम्रो टिम नेपालमा हाल सक्रिय सदस्य १ सय ५० जना र साधारण सदस्य सय जना छन् । यसरी खाना खुवाउनका लागि सक्रिय सदस्यबाट मासिक रूपमा १ हजार र साधारण सदस्यबाट एक सयका दरले संकलन गर्ने गरिएको र स्वदेश तथा विदेशबाट समेत निरन्तर सहयोगसमेत प्राप्त भइरहेको जानकारी दिए ।
संयोजक पन्तका अनुसार बेलायत बस्दै आएकी इसा गुरुङसहित अमेरिका, बेल्जियमलगायतका मुलुकमा बस्ने नेपालीबाट अभियानलाई निरन्तर सहयोग मिलेको छ ।
‘पहिले खान्थें, अहिले खुवाउँछु’
बुद्धिमान माझी, उमेर १९ वर्ष । घर सिन्धुली । पढाइ बीबीएस पहिलो वर्ष । उनी हुन्, कोभिड १९ पछि सरकारले लगाएको लकडाउनको मारमा परेका एक युवा ।
गत वर्षको माघमा उनले आफ्नै मामासँग २४ प्रतिशत व्याजमा १ लाख ५० रुपैयाँ लिएर बौद्धमा होटल सुरु गरे । व्यवसाय सुरु गरेको दुई महिनामा नै कोरोनाका कारण लकडाउन भयो । भाइबहिनीसहित कोठाभाडामा लिएर बसेका उनले व्यवसाय बन्द भएपछि भाइबहिनीलाई घर पठाए ।
५ हजार मासिक कोठाभाडा र होटलको १२ हजार भाडाको भार उनले थाम्न सकेनन् । त्यसपछि होटल छाड्ने निधो गरे । सामान पोको पारेर कोठामा ल्याए । पेट पाल्न धौधौ भयो । दोस्रो चरणको लकडाउन सुरु भएदेखि उनी बौद्धदेखि खाना खानकै लागि खुलामञ्च धाउन थाले । खुलामञ्च आएको केही दिनमा नै उनले सहारा पाए र हाल उनी चावहिलस्थित एक बैंकमा जागिरे छन् । पहिले खाना खानका लागि खुलामञ्च आउने निधो गरेका उनी अहिले भने हरेक शनिबार र बिदाका दिन अरूलाई खाना खुवाउनका लागि नै खुलामञ्च आउने गरेका छन् ।
‘पहिले लाइनमा बसेर खान लजाएँ, खाना खान यहीँ आएपछि काम पनि पाएँ । अहिले बिदाको दिन यहाँ आएर अरूलाई खाना खुवाउन सगाउने गरेको छु,’ माझीले सुनाए । हाल भने उनी कोटेश्वरस्थित एक होस्टलमा बस्छन् ।
भात त खुवाउँछु, छोरी बचाऊँ कसरी ?
पम्फा थापा दोलखा सिंगटीकी हुन् । उनी १५ चैतदेखि नै खाना खान खुलामञ्च आइरहेकी छन् । उनकी तीन र नौ वर्षकी दुई छोरी छन् । तीन वर्षकी छोरीको मुटुले राम्रोसँग काम गर्दैन । मुटुमा प्वाल छ । श्रीमान्ले अर्को विवाह गरेपछि उनको सहारा टुटेको छ ।
‘छोरीलाई महिना दिनमा एकपटक उपचारका लागि गंगालाल पुर्याउनुपर्छ, महिनामा औषधिलाई २ हजार र उपचारमा २ हजार लाग्छ, भात त खुलामञ्च ल्याएर खुवाउँछु तर त्यसलाई अब बचाऊँ कसरी ?’ उनले गुनासो गर्दै भनिन् ।
किलागलमा कोठा भाडामा लिएर बसेकी उनले कोठाभाडा नतिरेको समेत पाँच महिना भएको सुनाइन् । घरबेटीले दैनिक भाडा माग्ने गरेको भन्दै उनले भनिन्, ‘छोरीलाई बचाऊँ कि घरबेटीलाई भाडा तिरौं, गरिबको कोही भएन’, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।















प्रतिक्रिया