८ कार्तिक २०८३, आइतबार

मानसिक स्वास्थ्यमा थप लगानी अत्यावश्यक : अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा समस्या

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । मानवीय सेवा कार्यहरु गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

मानसिक स्वास्थ्य दिवस, १० अक्टोबरको अवसरमा आज नेपाल रेडक्रस सोसाइटीबाट आयोजित अन्तर्राष्ट्रिय स्तरको छलफल कार्यक्रममा म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपंतिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरुमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको आफ्नो अध्ययनले देखाएको बताए ।

उनले भने, “कोभिड पछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ ।”

नेपालमा हरेक दिन औसतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिव छ हजार तीनसयले आत्महत्या गरेको आँकडा प्रस्तुत गर्दै नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले अन्तर्राष्ट्रिय रेडक्रस अभियान र नेपाल रेडक्रसले मानसिक स्वास्थ्यमा गरेका कार्यक्रमको बारेमा प्रस्तुतीकरण गरे ।

कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसीआरसी र रेडक्रसको महासंघका प्रतिनिधिहरु सहित ८५ जनाले भाग लिएका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । कोभिड पश्चात नेपाल रेडक्रसका मनोसामाजिक सहयोग तथा निशुल्क हटलाईन ११३० मार्फत् सेवा लिनुभएका तारा गुरुङ, देवी रेग्मीले आफूलाई परेको समस्या र समाधानको बाटो देखाइदिएकोमा खुशी व्यक्त गर्दै अनुभव आदान प्रदान गरेका थिए ।

कार्यक्रममा रेडक्रसको एशिया प्रसान्त क्षेत्रीय कार्यालयका विज्ञ एलिजा चेइङले एशिया क्षेत्रका मुलुकका रेडक्रस सोसाइटीहरुले मानवीय सहायता क्षेत्रमा मानसिक स्वास्थ्यमा गतिविधि वढाउदै लगेको तर त्यो पर्याप्त नभएको बताए ।

कार्यक्रमको समापन गर्दै नेरेसोका महामन्त्रीले प्रकृतिसँगको सामिप्यता घट्दै गएको र हेयभाव, भेदभाव बढ्दै गएको अहिलेको सन्दर्भमा सबै सेवाकार्य गर्दा शुरक्षालाई उच्च प्राथमिकता राख्न, कार्य वातावरण राम्रो बनाउन र मानसिक स्वास्थ्यलाई सबै खालका कार्यक्रममा एकीकृत गर्न अनुरोध गरे ।

कोशिस नेपालका मातृका देवकोटाले मानसिक स्वास्थ्य खाना, पानी जस्तै अत्यावश्यक सेवा भएको र विलासिताको रुपमा नहेर्न अनुरोध गरे ।

विभिन्न सातवटा मुलुकमा गरिएको सर्वेक्षणको आधारमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले हिजो प्रकाशित प्रतिवेदनमा हरेक दुई जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या देखिएको जनाएको कार्यक्रम सञ्चालक शुशिल रेग्मीले बताए ।

नेपाल रेडक्रसले विगतको शसस्त्र संघर्ष, भुकम्प प्रतिकार्यका गतिविधिहरु र अहिलेको कोभिड प्रतिकार्यमा मनोसामाजिक सहयोगलाई कार्यक्रमहरुको एउटा अंग बनाएको र यसलाई बढाउनुपर्ने आवश्यकता कार्यक्रममा सहभागीहरुले औँल्याएका थिए ।

सबैका लागि मानसिक स्वास्थ्य पर्याप्त लगानी, व्यापक पहुँच । जसलाइ पनि, जहाँ पनि आज अक्टोबर १० तारिख, मानसिक स्वास्थ्य दिवसको मूल सन्देश यस्तो छ ।