
काठमाडौं, २४ असोज । पूर्व सांसद सरिता गिरीले नेपाल–चीन सीमामा नेपाली अनुगमन टोलीमाथि चिनियाँ सैनिकले गरेको आक्रमणबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।
गिरीको संयोजकत्वमा रहेको तराई मधेश बृहत् लोकतान्तित्र मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरी सीमा स्तम्भको अनुगमनका लागि गएको नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीद्वारा भएको आक्रमणबारे जनतालाई आधिकारिक जानकारी दिन सरकारसँग माग गरेको हो ।
विज्ञप्तिमा सञ्चारमाध्यममा आएको उक्त समाचारबारे बुझेर जनतालाई आधिकारिक जानकारी दिन सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोली ५, ६, ७ र ८ को अनुगमन गरी ९ नं. को सीमा स्तम्भनजिक पुगेपछि चिनियाँ सुरक्षाकर्मीले नेपाली भू–भागमा प्रवेश गरी अनुगमन टोलीमाथि अश्रु ग्यास प्रहार गरेका छन् र उक्त आक्रमणमा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनुभएको छ । चिनियाँ सरकारको यस्तो आक्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं । साथै यस घटनाबारे सरकारले तुरन्त जनतालाई आधिकारिक जानकारी गराउन माग गर्दछु ।’
सगरमाथाजस्तो विश्वको गरिमालाई समेत चीनले बेला बेला आफ्नो दावी गरेको घटनाको भर्त्सना गरिएको विज्ञप्तिमा चिनियाँ आक्रमणकारी नीतिको विरोध गरिएको छ । यसबारे शुक्रबार सञ्चारमाध्यममा विभिन्न समाचारहरु आएका थिए । यद्यपि पनि उक्त घटनाबारे सरकारी पक्षबाट भने केही धारणा सार्वजनिक भएका छैनन् ।















प्रतिक्रिया