
काठमाडौं, २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शहीद शरदकुमार गौचनको तेस्रो स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ प्राङ्गण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
सभामा नेपालको निर्माण क्षेत्रको विकास र विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेका महत्वपूर्ण भूमिकाको स्मरण गरिएको महासंघले बताएको छ । कोभिड–१९ को बढ्दो संक्रमणका कारण कार्यक्रमलाई भव्य रुपमा गर्न नसकिए पनि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै गौचन स्मृति दिवसलाई निरन्तरता दिइएको महासचिव रोशन दाहालले जानकारी दिए ।
आगामी वर्षहरुमा भने स्वर्गीय गौचनको सम्झनामा बृहत रुपमा अन्यकार्यक्रम गरिने उनको भनाइ छ । निर्माण व्यवसायीहरुमाथि अहिले पनि सुरक्षा खतरा रहेको भन्दै महासचिव दाहालले व्यवसायीहरुका सुरक्षाका लागि ठोस पहल गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । श्रद्धाञ्जली सभाअगाडि महासंघ परिसरमा रहेको स्वर्गीय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंहसहित गौचनकी धर्मपत्नी आशा गौचन, महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारीहरु, सदस्यहरु र महासंघका कर्मचारीहरुले माल्यार्पण गरेका थिए ।
यसैबीच जिल्ला निर्माण व्यवसायी संघहरुले पनि गौचनको स्मृतिमा विविध कार्यक्रम गरेको महासंघले बताएको छ । गौचनको २०७४ साल असोज २३ गते नयाँवानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय जाँदै गर्दा आपराधिक समूहले गोली हानेर हत्या गरेको थियो ।















प्रतिक्रिया