
काठमाडौं, २३ असोज । नजिकिदो चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ‘विशेष सुरक्षा योजना’ लागू गर्ने तयारी गरिएको छ ।
चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्न सक्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरिरहेको बताएका छन् ।
सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको दशैं बजार र सुशासन विषयक अन्तर्क्रिया कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाँडै नै सुरक्षा योजना कार्यान्वयनमा ल्याउने जानकारी दिएका हुन् ।
आगामी कात्तिक १ गतेबाट नेपालीको महान चाड वडादशैं शुरु हुँदैछ । दशैंमा आपराधिक घटना बढी हुने सम्भावना भएकाले सरकारले विशेष सुरक्षा योजना लागू गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दशैंमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताउँदै कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने गरी कानून बनाउन थालिएको जानकारी दिए ।
काठमाडौं प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयनमा ल्याउन थालिएको बताउँदै सुरक्षा व्यवस्थालाई अझ बढी सबल र सुदृढ बनाउन बढी भीडभाड हुने बजार र वित्तीय क्षेत्रलगायत स्थानमा सादा पोशाकका प्रहरी परिचालन गर्ने जानकारी दिए ।
उनले प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारी र यौनजन्य क्रियाकलापन संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले यात्रुलाई सहजताका लागि चाडपर्वको समयमा १० ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिँदै यात्रुबाट बढी भाडा लिए नलिएको अनुगमन गर्नका लागि आठ वटा टोली खटाइएको र ती टोलीले बसमा बसेर भाडाको अनुगमन गर्ने बताए ।















प्रतिक्रिया