१ कार्तिक २०८३, आइतबार

प्रदेश ५ को राजधानी प्रस्तावबारे सर्वदलीय बैठकमा जुटेन सहमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : राजधानी बुटवलमै कायम गरिनुपर्ने मागसहित सडकमा उत्रिएका बुटवलवासी ।

बुटवल, १९ असोज । प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने प्रस्तावबारे छलफल गर्न बसेको प्रदेशसभाको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ ।

केही बेरअघि शुरु भएको उक्त बैठक निष्कर्षविहीन बनेपछि १० मिनटमै सकिएको छ । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसले केही दिन प्रदेशसभा स्थगित गरेर राजधानीबारे छलफल गर्ने र सहमति जुटाउने प्रस्ताव गरेको थियो ।

तर, नेकपाले प्रदेशसभा स्थगित गर्न नमानेपछि कांग्रेस बैठकबाट बाहिरिएको छ । बिहान ८ बजे बोलाएको बैठक सवा १० बजे शुरु भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न सकेन ।

कांग्रेसले जस्तै जनता समाजवादी पार्टी नेपालले पनि केही दिन प्रदेशसभा स्थगित गर्न आग्रह गरेको छ । संसदीय दलका प्रमुख सहसराम यादवले जनता सडकमा उत्रिएका बेला एकलौटी ढंगबाट राजधानी तोक्न नहुने बताएका छन् ।

नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने पहिलो बैठक बिनानिष्कर्ष टुंगिए पनि पुनः बैठक बस्ने तयारी गरेको बताए । सहमतिको प्रयास जारी रहेकाले प्रदेशसभा बैठक स्थगित नहुने उनको भनाइ छ ।