८ कार्तिक २०८३, आइतबार

परासीको रामग्राममा ८० जना नेकपामा प्रवेश

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )मा पार्टी प्रवेशको लहर चलेको छ ।

नेकपा नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको र नेकपाले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सक्ने भन्दै पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने क्रम बढेको हो ।

यसैक्रममा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ बञ्जरियामा आज एकैपटक ८० जना विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।

नेकपाको वडा कमिटीले आज पण्डितपुरमा गरेको राष्ट्रिय युवा संघ नेपाल रामग्राम १८ नगर कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य एवम् संघीय निर्वाचन क्षेत्र नं १ का संयोजक थानप्रसाद गैरेले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा नेपाली कांग्रेस, राप्रपा र जनता समाजवादी पार्टीका रहेको नेकपा रामग्राम नगर कमिटीका कार्यालय सदस्य दीपक गैरेले जानकारी दिए ।

यसैबीच सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी पनि गठन गरिएको छ ।

२१ सदस्यीय वडा कमिटीको संयोजकमा राजकुमार बस्याल र सहसंयोजकमा गोबिन्दप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको युवा संघ रामग्राम नगर संयोजक जीवन भट्टराईले बताए ।

नेकपा वडा कमिटी अध्यक्ष हरिबहादुर आलेको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य एवम् संघीय निर्वाचन क्षेत्र नं २ का संयोजक थानप्रसाद गैरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य एवम् प्रदेश २ (२) का संयोजक जनार्दन कुर्मी, जिल्ला सचिवालय सदस्य लक्ष्मी क्षेत्री, थमन सिंह नेपाली, धनपद यादव, राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रे, नेकपा नगर कमिटीका सदस्य दीपक गैरे, नमकान्त पाठक लगायतले बोल्दै वर्तमान नेकपा नेतृत्वको सरकारले छोटो समयमै जनताको भावना र मतको कदर गर्दै विकासको लहर ल्याएको बताएका थिए । नेकपाले धेरै काम गरेको तर प्रचार कम भएकोले व्यापक प्रचारप्रसार गर्न आग्रह पनि गर्नुभएको नेकपा वडा कमिटी सचिव कुमार आलेले बताए ।