
काठमाडौँ, १५ असोज । सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
केसी चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका बेला सरकारले पहिलो पटक यस्तो आग्रह गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो समय अनशनको लागि सुहाउँदो नभएको बताएका छन् ।
उनले अहिले अनशन फिर्ता लिएर कोरोना महामारीबाट जनतालाई जोगाउन र जोगिन तर्फलाग्नुपर्ने बताए ।
‘एकातिर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ’, मन्त्री ज्ञवालीले भने, ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय होइन।’
मन्त्री ज्ञवालीले केसीका धेरै माग पूरा भइसकेका र अन्य विषयमा छलफल गर्न सकिने बताउँदै अनशन तोड्न आग्रह गरेका छन् ।
‘मेरो नेपाल सरकारको तर्फबाट उहाँ र उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाईंमा जोडियौं’, मन्त्री ज्ञवालीले भने, ‘जनतालाई महामारीबाट जोगाऔं, बाँकी विषयमा छलफल गर्दै जान सक्छौं ।’















प्रतिक्रिया