शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

१५ हजार फिट माथि प्रियासनको ‘एयर होस्टेस’ उपन्यास विमोचन

दैनिक नेपाल २०७७ असोज १४ गते २०:०७

दाङ । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गरेका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास ‘एयर होस्टेस’ आकाशमा विमोचन भएको छ ।

यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेसहरु सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

कोरोना संक्रमणलाई मध्यनजर गरी पिपीइसहित स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी १५ हजार ५ सय फिट उचाईमा उपन्यासको विमोचन गरिएको हो । काठमाडौं देखि नेपालगञ्ज आउनेक्रममा स्वास्थ्य सामग्रीसहित प्लेन चढेका यात्रुहरुले समेत उपन्यासको अध्ययन गरेका थिए ।

एयर होस्टेस उपन्यास प्रियासनको नवौं उपन्यास हो । प्रियासनले यस अगाडी ८ वटा उपन्यास, दुईवटा कथा र अन्य पुस्तक प्रकाशन गरिकेका छन् ।

एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ ।

यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिए । उनका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ ।

‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि मन हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थपे, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु ।’

उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिए ।

‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको उपन्यासकार प्रियासनको छ ।

यसैगरी लकडाउन लभमा कोरोना संक्रमणले अर्थतन्त्र देखि समाजमा पारेको असर, यसबाट कसरी माथि उठ्न सकिन्छ भन्ने विषय बस्तुका साथै दरिलो प्रेम कथा पनि समावेश छ ।

उपन्यास दुईसय २४ पृष्ठको छ । उपन्यासलाई ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको हो । केही दिनभित्रै प्रियासनको लकडाउन लभ उपन्यास पनि सार्वजनिक गर्ने तयारी व्रदर बुक्सले गरेको छ ।

उपन्यासकार प्रियासनले गएको वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी उपन्यास एकै वर्षमा निकाल्नु भएको थियो । त्यस अगाडी पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रियासनले प्रकाशित गरि सक्नुभएको छ ।

कथा र लेखको संग्रह पनि प्रियासनको प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको भिडियो पनि युटूबमा हेर्न सकिन्छ ।

प्रियासनले पत्रकारितामा उत्कृष्ट योगदान पुर्याए वापत सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट संविधान दिवसको अबसरमा यस वर्ष जनसेवा श्री पदक समेत पाएका छन् । प्रियासनको सेल्फी उपन्यास वर्मामा सोधपत्र समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित