शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

दैनिक नेपाल २०७७ असोज १४ गते १९:१५

कास्की, १४ असोज । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ ।

पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उनले जानकारी दिए । पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्ने छ ।

अधिकारीले भने, “नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारिपारि गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बोर्डर खुलेपछि सिधा/सिधा सञ्चालन गर्छौँ ।”

दशैँ तिहारलगायत चाडपर्व नजिकिरहेको र पेशाव्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा शुरु गरिएको बताइन्छ ।

विगतमा पोखरा–दिल्लीको भाडा रु चार हजार रहेकामा हाललाई रु ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।

मोडर्न इराले १४ वर्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल र भारत सरकारबीच दुईदेशीय यातायात सञ्चालनको सहमतिअनुसार विसं २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित