मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

वामदेवको मुद्दा हेर्दा हेर्दैमा, शुक्रबार फेरि बहस हुने

दैनिक नेपाल २०७७ असोज १४ गते १८:१०

काठमाडौँ, १४ असोज । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको मुद्दा सर्वाेच्च अदालतले हेर्दा हेर्दैमा राखेको छ ।

गौतमलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

अब त्यसबारे १६ गते फेरि बहस हुनेछ । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार गौतमको मुद्दा हेर्दा हेर्दैमा परेको छ, असोज १६ गते फेरि बहस हुनेछ ।

मुद्दामाथि वकिलहरुको बहस नसकिए वा समय सकिए त्यो मुद्दा हेर्दा हेर्दैमा जान्छ । बुधबार साढे ४ घण्टा बहस भएको थियो ।

गौतमको पक्षबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल बैद्य, प्रेमबहादुर खड्का चन्द्र कान्त ज्ञवाली र कुमार आचार्य लगायत १३ जना भन्दा बढी चर्चित अधिवक्ताहरुले बहस गरेका थिए ।

अझै सरकारी वकिलका तर्फबाट एक जनाले बहस गर्न बाँकी हुँदै समय सकिएको हो ।

अब शुक्रबार हुने बहसमा सरकारी एकजना वकिलपछि रिट निवेदक दिनेश त्रिपाठी पक्षका अधिवक्ताले बहसमा भाग लिनेछन् ।

त्यसपछि मात्र गौतमको राष्ट्रियसभा सदस्यका विषयमा अदालतको फैसला आउनेछ ।

गौतमलाई राष्टिरयसभा सदस्य बनाउन भदौ २९ गते सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो ।

गौतमले १ गते शपथ लिएका थिए ।

गौतमको नियुक्तिविरुद्ध असोज ५ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नियुक्ति बदरको माग राख्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित