शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : मन्त्री गुरुङ

दैनिक नेपाल २०७७ असोज ७ गते १४:२८

काठमाडौँ, ७ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री गुरुङले कोभिड–१९ को महामारीबाट अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका संवेदनशील वर्ग र समूदाय बढी मारमा परिरहेका उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गरे ।

४१ औँ सामाजिक सेवा दिवसको अवसर पारेर ‘अपाङ्गता भएका महिलाहरुको महासंघ–नेपाल’ले वुधबार काठमाडौँमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिहरुको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासंघ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघ, संस्थाहरुसँग सहकार्यका साथ काम गरिरहेको पनि बताए ।

‘सामाजिक संघ, संस्था परिचालन गरेर पनि अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री गुरुङले भने, ‘उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।’

उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता व्यक्त गरे । त्यसका लागि गृह मन्त्रालयलाई आवश्यक्ताअनुसार ध्यानाकर्षण गराउने काम भइरहेको मन्त्री गुरुङले स्मरण गराए ।

कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गरेकी थिइन् ।

त्यस अवसरमा उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित