
काठमाडौँ, ५ असोज । धरानमा सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सप्तरीको बिष्णुपुरका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका १ पर्साही टोल पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।
उनको आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरोसँगै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि ती पुरुषलाई एक साताअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनको कोरोना पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
उनको रिपोर्ट कहिले आएको भन्नेबारे भने यकिन नभएको बताइएको छ ।
यससँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।















प्रतिक्रिया