७ कार्तिक २०८३, शनिबार

बामदेव र नारायणकाजीलाई मन्त्री बन्न संविधानले नराेक्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री बन्न कसैले पनि नरोक्ने बताएका छन्।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहानको अन्तर्वार्तामा खनालले राष्ट्रिय सभा र प्रतिनिधि सभाको सांसदलाई मन्त्री बन्न कुनै पनि कानून र संविधानले रोक्न नसक्ने बताए। उनले बामदेव र नारायणकाजीको विरोध गर्नेहरूले संविधान राम्रोसँग पढ्नुपर्ने बताए।

‘सांसद भइसकेपछि मन्त्री बन्न सक्छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको सांसद बनेपछि संविधान, कानून केहीले पनि रोक्दैन’, उनले भने, ‘बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मन्त्री बन्न सक्नु हुन्छ।’

‘सांसद पदमा हारेको मान्छे हो मन्त्री नहुने भनेको। सांसद भइसकेपछि मन्त्री बन्न रोकिदैन’, उनले भने, ‘बामदेव र नारायणकाजी सांसद भइसक्नुभएको छ। सांसद भएपछि मन्त्री बन्न संविधानले रोक्दैन। मैले पनि संविधान पढेको छु।’

नेकपाका नेता खनालले दशैं अगाडि मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भएको बताए। ‘दशैँ अगाडि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ’, उनले भने, ‘सकेसम्म सबैलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिने कुरा पनि भएको छ। २–३ जना बाहेक सबै मन्त्रीहरूलाई हटाउन सुझाव आएको छ।’

संविधानले बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री बन्न अबरोध गर्छ भनेर संविधानविद् डा.भीमार्जुन आचार्यसहितका अधिकांश अधिवक्ताहरूले बताइरहेका बेला नेकपाकै वरिष्ठ नेता खनालले मन्त्री बन्न संविधान बाधक नरहेको बताएका हुन् ।

बामदेव र नारायणकाजी मन्त्री बन्न पार्टीभित्र दवाव सिर्जना गरिरहेका छन् । उनीहरूको दवावमा परेका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीलाई संविधानले पनि पछ्याइरहेको छ ।