मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

राष्ट्रिय सहकारी बैंकको व्यवसाय निरन्तरता योजना तालिम सम्पन्न

दैनिक नेपाल २०७७ असोज ४ गते १९:५५

बागलुङ, ४ असोज । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको एक दिने व्यवसाय निरन्तरता योजना तालिम आइतबार सम्पन्न भएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा सहकारी व्यवसायलाई कसरी थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिन्छ भन्ने विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त तालिम आयोजना गरेको सहकारी बैंकले जानकारी दिएको छ ।

कोरोनाका कारण सबै क्षेत्रमा समस्या सृजना भई व्यापार व्यवसायमा कमी आएका कारण सहकारी सञ्चालनमा देखिएको समस्यालाई समाधानमा सहयोग पुर्याउनका लागि तालिम आयोजना गरिएको बैंकले बताएको छ । ‘कोरोनाका कारण सहकारी क्षेत्रमा पनि थुप्रै समस्या सृजना भएका छन्, कतै तरलता बढी भएर समस्या छ भने कतै तरलता अभावका कारण समस्या छ’, बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्यले भने, ‘बचत तथा ऋणमा मात्रै होइन, सहकारीमार्फत सञ्चालन गरिएका उत्पादन र सेवा क्षेत्रका व्यवसायमा समेत समस्या देखिएको छ ।’

सदस्यहरूलाई आर्थिकसँगै स्वास्थ्य र सामाजिक अवस्थामा समेत समस्या देखिएको समयमा सहकारीलाई सदस्यहरूको उन्नती प्रगतिमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा तालिममा सहजीकरण गएिको आचार्यको भनाइ छ ।

तालिम समापनका क्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सदस्य केन्द्रीत व्यवसायका रूपमा रहेको सहकारी क्षेत्रलाई सदस्यहरूको आर्थिक अवस्थामा सुधार ल्याउन र सामाजिक अवस्थामा परिवर्तन ल्याउनका लागि विगतमा भन्दा नया योजना र कार्यक्रम आवश्यक हुने र त्यसका लागि तालिम सहयोगी भएको बताए । विगतमा सहज रूपमा सञ्चालन हुँदै आएका सहकारी संस्थाहरू कोरोनाका कारण अलमलमा परेको उनको भनाइ छ ।

बैंकका प्रशिक्षकहरू नवकुमार अधिकारी र नारायण बेलवासेले संकटको समयमा सहकारीको सेवालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ, दस्यहरूको स्वास्थ्य र आर्थिक समस्यालाई समाधानका लागि कसरी काम गर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए ।

संकटको समयमा सेवा निरन्तरताका विकल्पको खोजी कसरी गर्ने र कस्तो योजना बनाउदा थप प्रभावकारी रूपमा व्यवसायलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा जानकारी गराइएको उनीहरूले बताए ।

सहकारी बैंकले कोरोना संक्रमणका कारण सरकारले लकडाउन शुरु गरेदेखि नै जुम मार्फत विभिन्न किसिमका तालिम तथा गोष्ठीहरू सञ्चालन गर्दै आइरहेको छ । बैंकले हालसम्म १ लाख ५० हजार जनालाई भर्चुअल तालिममा सहभागी गराइसकेको समेत बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित