बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पोखरा जाने सडकमा सिङ्गै ट्रक डुब्ने पोखरी ! सरकारलाई गिज्याउने पृथ्वी राजमार्ग

दैनिक नेपाल २०७७ असोज ४ गते १०:५७

अशोेक विश्वकर्मा

तनहुँ, ४ असोज । देशको तीन तहको सरकारको विकास बजेटको अधिकांश हिस्सा पूर्वाधार विकासले ओगट्ने गरेको छ । सडक निर्माणलाई मुख्य विकास सम्झने नेपाल र नेपालीहरूलाई भने पृथ्वी राजमार्गको वर्तमान अवस्थाले गिज्याइरहन्छ । त्यसो त देशका अधिकांश मुख्य राजमार्गहरूको अवस्था सन्तोषजनक नहुँदा देशदेखि विदेशसम्म राम्रो सन्देश गएको छैन ।

नौविसेदेखि पोखरासम्मको १७४ किलोमिटर लम्वाई रहेको पृथ्वी राजमार्गमा सवारी साधनहरू आफ्नै गतिमा हुँइकिन पाउँदैनन् अर्थात आरामले चल्न सक्ने अवस्थानै छैन । ब्यवस्थित नाला नहुँदा राजमार्गका कालोपत्रे बर्षेनि वर्षातको पानीले बगाउने गरेको छ । राजमार्गका बीचमा रहेका खाल्डाखुल्डीले सवारी र चालकलाई हैरानी त पैदा गरेको छ नै दुर्घटना समेत बढाएको छ ।

ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख एवं प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले सडक दुर्घटनाको कारणमध्ये जिर्ण सडक पनि रहेको बताए । प्रमुख ढकालले सडक दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डी पुर्नुका साथै सडकमर्मत गर्नुपर्ने सुझाव सम्वन्धित निकायमा दिने गरेको भएतापनि प्रक्रियागत रुपमा जानुपर्ने भएकाले समयमा नहुने गरेको बताए ।
ट्राफिक कार्यालय गण्डकी प्रदेशको तथ्याङ्ग अनुसार वार्षिक ४ सयभन्दा बढी सडक दुर्घटना हुने गरेको छ । आर्थिक वर्ष २०७६–७७ मा ४ सय ३९ दुर्घटनामा परि २ सय २३ जनाले ज्यान गुमाएका थिए । ४ सय २४ गम्भिर सहित ७ सय ७१ जना घाइते भएका छन् । जसमध्ये पृथ्वी राजमार्गमा मात्र ७६ वटा सडक दुर्घटना भएको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षको यो दुई महिनाको अवधिमा ५६ सडक दुर्घटना भइसकेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले सार्वजनिक सवारी गुड्ने सार्वजनिक सडकलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । केसीले आफूहरूले सरोकारवाला निकायमा दर्जनौ पटक माग राखेपनि कुनै सुनुवाई नहुने गरेको उल्लेख गरेका छन् । ‘यो सडक हुँदै देशका उच्च ओहोदाका ब्यक्तिहरू हिड्नु हुन्छ । तर सडकको जिर्ण अवस्था देख्नु हुन्न’, उनले भने, ‘देशमा रेल र पानी जहाज ल्याउने हो सवारीको लागि बाटो किन बनाउनु पर्‍यो ?’

अध्यक्ष केसीले सडक दुर्घटना चालककै लापरवाहीले भएको भन्दै दोष दिँदा सडकको अवस्थालाई पनि ध्यानदिनुपर्ने सुझाव दिएका छन् । तनहुँ ब्यास भूमि यातायात कम्पनी प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठ राकुको पनि गुनासो उस्तै छ । बारम्बार आवाज उठाउँदा समेत सडक डिभिजन कार्यालयले वास्ता नगर्ने गरेको उनले बताए । ‘कुनै प्रतिक्रियापछि एक पटक कार्यालय प्रमुखलाई भित्र राखेर दवाव स्वरुप चावी लगायौँ बल्ल माग सुनुवाई भयो’, उनले भने ।

सडकको दुरावस्था र सम्वन्धित निकायमा बारम्वार सडक मर्मतका लागि माग राखिएता पनि सुनुवाई नभएको गुनासो बढ्दा सडक डिभिजन कार्यालय कास्कीले भने प्रक्रिया अघि बढेको जनाएको छ । डिभिजन प्रमुख सुनिलबाबु पन्तले सडक मर्मतको मुख्य काम हुने चैत, वैशाख र जेठ महिनामा लकडाउन भएका कारण सडक मर्मत हुन नसकेको जानकारी दिए ।

उनले पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्डको विस्तारका लागि एडीवीले काम अघि बढाउने भएकाले राजमार्गको दिगो निर्माण हुन नसकेको स्वीकार गरे । ‘सडक एडीवीको ठेक्का लागेपछि नै बन्ने भएकाले टालटुलको काम मात्र हुँदै आएको छ’, उनले भने, ‘अबफेरि पनि मर्मतका लागि ठेक्का पट्टाको गर्न प्रक्रिया शुरु भएको छ ।’

राजमार्गको दुलेगौडादेखि पोखरासम्मको भाग अत्यन्त जिर्ण अवस्थामा रहे पनि तत्काल मर्मतका लागि चासो नदिँदा उपभोक्ताहरूले सास्ती खेप्न बाँध्य छन् । बर्षेनि गरिने मर्मत कार्य १ वर्ष समेत टिक्न नसक्नुले नेपालको विकासलाई गिज्याइरहेको त छ नै गुणस्तरीयतामा समेत शंका उब्जाएको छ ।

प्रतिक्रिया
सम्बन्धित