बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

तीन अर्बभन्दा बढीको तरकारी निकासी

दैनिक नेपाल २०७७ असोज ४ गते १०:२८

सर्लाही, ४ असाेज । सर्लाही जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब १८ करोड २६ लाख ८० हजार रुपैयाँको तरकारी निकासी भएको हो ।

लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब १ हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।

जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १ सय ३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ ।

त्यस्तै, पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा,भान्टा, घिरौँला, झिँगनी, लौका, फर्सी, मुन्गा र मुलालगायतका ५ प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिकरूपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् ।

परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले करिब १ हजार बिघा जमिनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित