शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोभिड–१९ एक्कासी आएको विपत्ति थियो : प्रधानमन्त्री

महामारीको सामना गर्न कुनै पनि मुलुक तयारी अवस्थामा थिएनन्

दैनिक नेपाल २०७७ असोज ३ गते ११:०७

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी एक्कासी आएको विपत्ति भएको बताएका छन् ।

शनिबार संविधान (राष्ट्रिय) दिवसका अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजिन विशेष समारोहमा देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक्कासी आएको महामारीलाई शुरुमा केहीले केही हुन्न भने पनि केही मानिस आत्तिएको स्मरण गरे ।

‘त्यतिबेला हामीमध्ये केही अलिक आत्तिएका थियौं, थोरै केही हुन्न भन्नेमा पनि थियौं । समग्रमा जनताको सुझबुझपूर्ण सहयोगमा कोरानालाई तह लगाउन सकिनेमा हामी विश्वस्त थियौं’, ओलीले सम्बोधनका क्रममा भनेका छन्, ‘हामीले लकडाउन गर्यौं । सर्वपक्षीय सल्लाह गर्यौं, सल्लाहमै रोकथाम, नियन्त्रण र उपचारका लागि क्षमताले भएसम्मका उपायहरु अपनायौं । हामीले ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अगाडि सार्यौं ।’

उपलब्ध नयाँ तथ्यका आधारमा जनतालाई सचेत पार्ने हरसम्भव प्रयास गरेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यस अवधिमा प्रधानमन्त्रीको हैसियतमा मैले पटकपटक औपचारिक सम्बोधन गरें । मृगौला प्रत्यारोपणका लागि अपरेसन थियटरमा जानुअघि र अस्पातालबाट डिस्चार्ज भएलगत्तै पनि सम्बोधन गरें । यी सबै सम्बोधनमार्पmत गरिएका काम र गर्ने कामका बारेमा आम देशबासीसँग सम्वाद गरें ।’

सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय समयमा हात धुने मात्रै होइन, आफ्नो आन्तरिक रोग प्रतिरोधी क्षमता वृद्धि गरी सिङ्गो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा आफूले जोड दिएको उनले सम्बोधनमा उल्लेख गरेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सबै प्रकृतिका कामदार/कर्मचारीहरु, तीन वटै तहमा कार्यरत जनप्रतिनिधिहरु, विज्ञहरु, राजनीतिक दल तथा आम नागरिकहरुको महामारी नियन्त्रण, रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रहेको भन्दै प्रधानमन्त्री ओलीले खुशी पनि व्यक्त गरेका छन् ।

‘यस महामारीसँग सामना गर्न विश्वका कुनै पनि मुलुक तयारी अवस्थामा थिएनन् । हामी पनि थिएनौं । शुरुका दिनमा यसको प्रभाव र प्रवृत्तिका बारेमा अनुसन्धानमा संलग्न विज्ञहरुसमेत अलमलमा थिए’, प्रधानमन्त्रीले भने, ‘अफवाह थिए, आशंका र आतंक थिए । कोही लकडाउनको पक्षमा थिए, कोही विपक्षमा । कसरी सर्छ, कसरी फैलिन्छ, कसरी रोकथाम हुन्छ, कहिलेसम्म यसको कहर कायम रहन्छजस्ता विषयमा अडकलबाजीहरु धेरै थिए । यहाँसम्म किकोरोना महामारी हो कि व्याधी भन्नेमा समेत बहस भएका थिए ।’

उनले सम्बोधनमा अगाडि भनेका छन्, ‘हामीले गत सालको चैत ११ गते पहिलो पटक लकडाउन गर्यौं, छिमेकी मुलुक भारतमा भन्दा एक दिनअघि । त्यस बखत हामीकहाँ संक्रमितहरुका २ वटा मात्र केस पहिचान भएका थिए । छिमेकी चीनमा यो महामारी नियन्त्रणमा आइसकेको थियो, छिमेकी भारतमा संक्रमितको संख्या ३ अङ्कमा सीमित थियो । त्यतिबेला विश्वस्तरमा नै मास्कसहित आवश्यक स्वास्थ्य सामग्रीको अभाव थियो । अभाव मात्रै होइन, हाहाकार नै थियो ।’

अहिले विश्वकै स्वास्थ्य सामग्रीको प्रमुख स्रोत मुलुक मानिएको चीनमा समेत शुरुका दिनमा सर्जिकल मास्कको समेत अभाव भएको उनले बताए ।

यदि कोरोना महामारी हुँदैनथ्यो भने बाचा पूरा भएका हुने थिए (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

प्रतिक्रिया
सम्बन्धित