शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सचिवालयको बैठक अचानक स्थगित, प्रधानमन्त्री ओली पेरिसडाँडा जालान् ?

दैनिक नेपाल २०७७ असोज २ गते १०:०२

काठमाडौं, २ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अचानक स्थगित भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शुक्रबार बस्ने भनिएको सचिवालय बैठक दुई दिन पछाडि धकेलिएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्रको आन्तरिक विषयमा छलफल हुने जनाइएको थियो ।

‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठकस्थगित भई पर्सी असोज ४ गते बिहान ११ बजे परिसडाँडामा बस्ने तय भएको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।
बैठक स्थगित हुनुको कारणका विषयमा श्रेष्ठले केही भनेका छैनन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको नेकपाको सचिवालयको बैठकलाई दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिबाट एकलौटी अध्यक्ष भएपछि पेरिसडाँडामा बैठक राखेका छन् ।

पेरिसडाँडाको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली जाने वा नजाने केही भनिएको छैन ।

धुम्बराहीस्थित पार्टी मुख्यालयमा बसेका बैठकहरूमा समेत नगएका ओली पेरिसडाँडामा बस्ने बैठकमा जाने सम्भावना निकै न्यून रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित