७ कार्तिक २०८३, शनिबार

अख्तियार खारेज गर्न नेकपाकै प्रभावशाली नेताको प्रस्ताव

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारीहरूलाई सफाइ दिएर साना एक–दुई हजार खाने सानालाई मात्रै कारबाही गरेको भनेर आरोप लागिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै एकजना प्रभावशाली नेताले खारेजीको माग गरेका छन् ।

अख्तियारका प्रमुख नवीन घिमिरेको कार्यकालमा ठूला भ्रष्टाचारीलाई कुनै पनि कारबाही भएको छैन । वाइड बडी, ओम्नी, बालुवाटार जग्गा प्रकरण, मल काण्डलगायतमा अख्तियारले आँखा चिम्लिएर सत्ता र पावरका पछाडि रहेका व्यक्तिलाई बचाएको आरोप छ ।

नेकपाका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अख्तियार पछिल्लो समय बदनाम हुँदै गएको बताए । भ्रष्टाचारीहरूलाई कारबाही गर्न बनेको अख्तियार आफै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले ठूला र पावरवालाहरूलाई सफाइ दिने थलोको रुपमा स्थापित हुँदै गएको बताए ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान अन्तर्वार्ताका क्रममा नेता गजुरेलले भने, ‘अख्तियारको काम छैन । भ्रष्टाचार रोकिएको छैन । जनताको काम भएको छैन । भ्रष्टाचार, अनियमितता, बिकृति र विसंगती बढेको बढ्यै छ ।’

‘अख्तियारमा प्रमुख र आयुक्तिहरू जसले नियुक्ति गर्‍यो त्यसका विरुद्ध भोलिका दिनमा कठघारामा उभिने व्यक्ति नियुक्ति गर्नुपर्छ । अहिलेको नेतृत्व पावर, पैसा र शक्तिको पछाडि लागेकोले अख्तियार बदनाम भयो’, उनले भने, ‘अख्तियारले गर्दा राम्रा काम पनि बिग्रियो । कर्मचारीले काम नै गर्न मन गर्दैनन् ।’

नेकपाका नेता गजुरेलले मुलुकमा ठूलाठूला भ्रष्टाचारका काण्ड हुँदा पनि अख्तियारले केही काम गर्न नसकेको बताए ।

‘अख्तियारको काम भनेको ठूला भ्रष्टाचारीलाई सफाइ दिएर बचाउने कार्य मात्रै भएको छ’, उनले भने, ‘यस्तो अख्तियारको काम छैन । १–२ हजार घुस खाने कर्मचारीलाई कारबाही गर्ने । अनि आत्महत्या गर्ने अवस्था हुन्छ । ठूला भ्रष्टहरू खुलेआम सत्ता र शक्तिको अगाडि पछाडि घुमेका छन् । तिनलाई कारबाही गर्नुपर्छ ।’

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे दुई दिन अगाडि रिटायर्ड भएका छन् । उनले ठूला माछालाई उन्मुक्ति दिएर सानालाई कारबाही गरेको आरोप लागेको छ ।
घिमिरेकै पालामा एकजना आयुक्त घुस काण्डमा फन्दामा परेका थिए ।