शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना संक्रमणबाट क्यालिफोर्नियामा एक नेपाली युवाको मृत्यु

गणेश थापा २०७७ भदौ २९ गते १८:१७

-गणेश थापा

क्यालिफोर्निया, २९ भदौ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमणका कारण सोमबार एक नेपाली युवाको मृत्यु भएको छ ।

स्थानीय कन्ट्राकोष्टा काउंटीको एलसेरिटो सिटीमा परिवारसहित बस्दै आएका हेमकुमार चौहानको सोही ठाउँको एक अस्पतालमा निधन भएको हो ।

स्थानीय नेपाली समुदाय ‘नर्दन क्यालिफोर्निया कम्युनिटी’ बाट प्राप्त जानकारीअनुसार स्वास्थ्यमा समस्या आएपछि केहीदिन पहिला कन्ट्राकोष्टा काउंटीस्थित काइजर अस्पतालमा भर्ना भएका निज चौहानको आज अपरान्ह मृत्यु भएको थियो ।

रेस्पिरेसन सिस्टममा गडबढी देखिएपछि अस्पतालले उनको कोभिड १९ टेस्ट गरेको र रिपोर्ट पोजेटिभ आएपछि निजलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकैबीच आज ज्यान गएको अस्पताल स्रोतले बतायो ।

निजको शव अहिले अस्पतालमै रहेको र आवश्यक प्रकृया पुरागरे पश्चात् अन्तिम संस्कारको कार्य अधि बढ्ने स्थानीय नेपाली समुदायका एक प्रतिनिधिले जानकारी दिए ।

कोरोना भाइरसको यस महामारीमा परी अमेरिकामा अहिलेसम्म १७ जना नेपालीको ज्यान गएको छ । यसबीचमा कोरोना संक्रमित २ हजार बढी नेपालीहरू मध्ये अधिकांश रिकभर भइसकेका छन् ।

पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया राज्य कोभिड-१९ बाट सवैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज २४ घण्टाको अवधिमा ४ सय १० जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय बढीमा भाइरसको संक्रमण भेटिएको छ ।

क्यालिफोर्नियामा मात्रै झण्डै सा‘ढे १४ हजार व्यक्तिको ज्यान जा‘दा ७ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने झण्डै ६७ लाख व्यक्ति संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित