शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यूएईको राष्ट्रिय ब्याडमिन्टन कम्युनिटी क्लब प्रतियोगितामा नेपाली खेलाडी पुगे फाइनलमा

दैनिक नेपाल २०७७ भदौ २८ गते १६:४५

काठमाडौं, २८ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको प्रथम राष्ट्रिय ब्याडमिन्टन कम्युनिटी क्लब प्रतियोगितामा नेपाली खेलाडीहरू फाइनलसम्मको यात्रा तय गर्न सफल भएका छन् ।

त्यहाँस्थित दुबई स्पोर्ट काउन्सिल र सट्टल दुबई ब्याडमिन्टनद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नेपाल ब्याडमिन्टन कम्युनिटी’ले फइनलसम्मको यात्रा तय गरेको हो । विभिन्न १३ वटा देशका खेलाडीहरू सम्मिलित सो प्रतियोगितामा महिला तथा पुरुष बास्केटबल, फुटबल, टेबलटेनिस, क्रिकेट र ब्याडमिन्टन समावेश गरिएको थियो ।

भदौ १९ गते शुक्रबारदेखि शुरू भएको सो प्रतियोगिता भदौ २६ गते शुक्रबार सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा ‘नेपाल ब्याडमिन्टन कम्युनिटी’ले पहिलोपटक सामूहिक टीम खेलमा आफ्नो उपस्थिति जनाउँदै ५ वटा विधामध्ये २ वटा विधामा फाइनल पुग्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगिताको ५ वटा विधामध्ये मिक्स डबल र महिला डबल प्रतियोगिता अन्तर्गत महिला डबलमा फिलिपिन्सका जिन्नापे द्रोशो र लेना मारिएको जोडीलाई नेपाली खेलाडी ज्ञानुमाया बराल र सानिया चन्दको जोडीले १५–३ को सेटमा पाजित गरी फाइनलमा पुगेको थियो ।

यस्तै फाइनलमा भने भारतका खेलाडीसँग नेपाली खेलाडीले सम्मानजनक हारको अवस्था व्यहोर्नु परेको थियो । फाइनलमा महिला डबल प्रतियोगितमा नेपाली जोडी ज्ञानुमाया बराल र सानिया चन्दको जोडीले भारतका तनिसा क्रष्टो र विद्या मंगहनीको जोडीसँग ०–२ सेटमा पराजय व्यहोर्नु पर्यो ।

त्यस्तै मिक्स डबलमा पनि भारतकै तनिषत क्रस्ट्रो र जेम्स भर्गिशसँग ज्ञानुमाया बराल र बिक्बी बुढाको जोडीले निकै प्रतिस्पर्धात्मक खेलमा २–० सेटमा पराजित हुनपर्यो ।

दुबई सरकारले कोरोना भाइरसको यो विषम् परिस्थितिबाट समुदायलाई कसरी बाहिर ल्याउन र आफ्नो दैनिकीलाई खुल्ला रूपमा क्रियाशील गराउन सकिन्छ भन्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

दुबईमा नेपालीहरूको बाक्लो उपस्थिति भए पनि यसअघि यस्ता प्रतियोगिताहरूमा सहभागिता जनाउन सकिरहेको थिएन । यद्यपि, पछिल्लो समय नेपाली समुदायले यस्ता खेलकुद प्रतियोगिताहरूमा संगठित भएर सहभागिता जनाउने मात्रै होइन राम्रो नतिजा हासिल गर्नतिर समेत नेपालीहरू लम्किरहेका छन् ।

यसअघि त्यहाँ सन् २०१६ मा आयोजित खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा प्रवाशी नेपालीहरूले भाग लिएका थिए । उक्त प्रतियोगितामा सहभागिताका लागि अन्तर्राष्ट्रिय खेलाडीहरू रवि शाही, पवित्र भण्डारी, पर्शुराम घिमिरे, सुभाष श्रेष्ठ, हिरालाल श्रेष्ठ र मदन अधिकारीलगायतको नेतृत्व र सक्रियता थियो ।

दुबईमा नेपालीहरूले ‘नेपाली ब्याडमिन्टन समुदाय’ भनेर सामाजिक सञ्जालमा ग्रुप निर्माण गरी प्रतिभाशाली खेलाडीहरूलाई समेट्दै आएको छ । यो समुदायको नेतृत्वदायी भूमिकामा हिरालाल श्रेष्ठ र सुमन उदय छन् । उनीहरूले इच्छुक खेलाडीहरूलाई आवद्ध गराउँदै साप्ताहिक खेल र प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएका छन् । अहिले उनीहरूको ग्रुपमा ५०–६० जना महिला तथा पुरुष खेलाडीहरू आवद्ध भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित