शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यसरी रोक्न सकिन्छ आत्महत्या !

एसपी उप्रेती २०७७ भदौ २५ गते १९:५४

-एसपी उप्रेती

आउनुस् आज आत्महत्याका बारेमा कुरा गरौँ । एक चोटी सोच्नुस् त कसले आफ्नो जीवन आफैँ किन त्याग्न चाहन्छ होला ? साँच्चै मानिसलाई त्यस्तो के कुराले यो भयानक निर्णय लिन बाध्य बनाउँदो हो ? विश्वका धेरै मनोवैज्ञानिकहरु यस विषयमा अनुसन्धानरत रहेका छन् ।

आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा विश्वभरी विभिन्न तवरले अभियान तथा कार्यक्रम भएका छन् । हालसम्म आत्महत्याको कारण यही हो भनेर ठकुवा गर्न भने सक्ने अवस्थामा विश्व पुगेको छैन । यद्यपि विज्ञहरुका अनुसार आत्महत्याका पछाडी केही तत्वहरुले प्रमुख भूमिका खेलेका हुन्छन् ।

त्यसमा मानसिक समस्या प्रमुख रहेको छ । आत्महत्या गर्ने मानिसको मस्तिष्कमा ठ्याक्के के हुन्छ भन्ने विषयमा हालसम्म सर्वमान्य प्रमाण केही नभए पनि उनीहरु कुनै कुनै तनावमा हुन्छन् भन्नेमा धेरैजना सहमत छन् ।

पछिल्लो समय विश्वमा नै आत्महत्याको दर बढेको छ । नेपाल प्रहरीका अनुसार नेपालमा पनि गत चैतदेखि यही लकडाउन, महामारी र निषेधाज्ञाकै बीचमा ४० प्रतिशत भन्दा बढी आत्महत्याको दर बढेको छ । तथ्यांकका अनुसार हरेक दिन २० जना बढीले आत्महत्या गरेको पाइएको छ ।

पछिल्लो समय आत्महत्याका लागि विश्वमा फैलिएको कोभिड १९ का कारण भएको लकडाउनले प्रमुख भूमिका निर्वाह गरेको विज्ञहरु बताउँछन् ।

कोरोनाभाइरस र लकडाउनले गर्दा मानिसको आर्थिक र सामाजिक पक्षमात्रै प्रभावित भएको छैन बलकी मानसिक पक्ष समेत शिथिल बनेको अवस्था छ । यो समय अब आउँदो ६ महिना वा एक वर्ष अथवा अझै बढी समयसम्म पनि लम्बिन सक्छ ।

पछिल्लो ६ महिनामा महामारीको प्रभावका कारण सामान्यदेखि स्वास्थ्य क्षेत्रकै मानिसमा व्याकुलता, चिन्ता, महामारीको त्रास, फ्रस्टेसन, डिप्रेसन, अनिद्रा, स्ट्रेस डिसअर्डर तथा भविष्यमा हुनसक्ने पोस्ट ट्रमालगायतको अवस्था सिर्जना भएको छ ।

सामाजिक दुरी, आउँदो भविष्यको अनिश्चितता, लामो समयको स्ट्रेस, थकान, पीडा, निराशावाद, संक्रमणको जोखिम, जोखिममा काम गर्नेमा समस्या, मृत्युको भय, रोजगारी गुम्नु तथा आर्थिक जटिलताहरुका कारण पहिलैदेखि मानसिक समस्यामा रहेकाहरुका लागि तथा अन्य मानिसका लागि समेत जोखिमपूर्ण अवस्था रहेको छ ।

त्यस्तै, तनावसँग सम्बन्धित अवस्थाहरु जस्तै मुड डिसअर्डर, घरेलु हिंसा आदि इत्यादी उत्पन्न हुने व्यवहारहरु पनि आत्महत्याका बानीहरुमा जोडिएका हुन सक्छन् ।

आत्महत्याको सर्वमान्य ठोस कारणहरु यही हुन् भन्ने छैन भने निवारणका पनि विश्वव्यापी कुनै सिद्धान्त छैन । तर हामीले केही सचेतना भने निश्चित रुपमा अपनाउन सक्छौँ । जसले गर्दा मानसिक समस्या हुन दिँदैन र मानिस आत्महत्या जस्तो कठोर निर्णयमा पुग्दैन ।

पछिल्लो समयको अध्ययन गर्दा कोरोनाभाइरसबाट बचेकाहरु प्नि आत्महत्याको जोखिममा रहेको बताइन्छ । क्वारेन्टिनमा आफ्नो जीवन त्याग्नेसम्मका समाचारहरु बाहिरिएका छन् ।

यसकै कारण विश्वभर आत्महत्याको जोखिम बढेको छ । समयमा नै यसको जोखिम कम गर्न मनोसामाजिक क्षेत्रमा निकै गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यी ६ कार्यहरुले आत्महत्या रोक्न भूमिका खेल्दछ :

१. मानसिक स्वास्थ्यसम्बन्धी साक्षरता बढाउने । विद्यालय स्तरदेखि नै मानसिक स्वास्थ्य सम्बन्धी चेतना जगाउन आवश्यक छ । जहाँबाट बालबालिकाहरुले शारिरीक साथै मानसिक रुपमा बलियो बन्ने आधारहरु पहिचान गर्न सक्छन् । जसले गर्दा मानसिक समस्या नहुने र आत्महत्या घट्न सक्छ ।

२. सहयोग माग्न नसक्ने वा आफूलाई कसैको साथ आवश्यक छ भन्ने महसुस नहुने मानिसहरु समक्ष पुग्ने किनकी उनीहरु वास्तवमा समस्यामा हुन सक्छन् । कतिपय मानिसहरु अन्तरमुखी हुने गर्दछन् ।

आफ्नो समस्या अरुलाई नबताउने किसिमका । उनीहरु भित्रभित्रै समस्यामा रहेका हुन सक्छन् । त्यस्ता मानिसहरुलाई पनि हामीले समस्याको भएकोबारे सोधपुछ गरेर दुर्घटना हुनु अघि नै समाधान निकाल्न सक्छौँ ।

३. समुदायमा आत्महत्या हुनसक्ने सम्बन्धी बानी व्यवहारको बारेमा सचेतना फैलाउने । मानिस आत्महत्याको चरणमा पुग्नु भन्दा अघि उसले केही बानी व्यवहारहरु देखाउने गर्छ ।

तसर्थ जोखिम प्रदायक किसिमका व्यवहारबारे समुदायमा जनचेतना फैलाउनु आवश्यक हुन्छ । यसरी जो कोही पनि आफू कस्ता व्यवहार गर्दैछु भन्ने थाहा हुन्छ ।

४. जोखिमका तत्वहरुलाई मात्रै घटाउने भन्दा बालबालिका वा किशोर अवस्थादेखि नै वैज्ञानिक रुपमा प्रमाणित सुरक्षित उपायहरु (प्रोटेक्टिभ फ्याक्टरहरु) बढाउनेतर्फ विशेष ध्यान दिने ।

रोगको समाधान भन्दा समस्या आउनै नदिनेतर्फ हामी बढी गम्भीर हुनुपर्छ । तसर्थ रक्षात्मकभन्दा सुरक्षात्मक उपाय अपनाउनु श्रेयष्कर हुनेछ ।

५. मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धी भ्रम वा स्टिग्मा हटाउन प्रभावकारी कार्य गर्ने । समाजमा अझै पनि मानसिक स्वास्थ्यका विषयमा धेरै भ्रमहरु रहेका छन् । जसरी शरीरमा भएका समस्याहरुको हामी अक्सर सहज ढंगले भन्ने गर्छाैँ, मनका समस्याहरु भन्दैनौँ ।

कालान्तारमा यो नै ठूलो समस्या बनेर कसैको ज्यान जानेसम्मको अवस्था आइपुग्छ । त्यस्तै, आत्महत्या गर्ने मानिसहरुलाई अहिले पनि समाजमा गलत नजरले हेर्ने चलन रहेको पाइन्छ ।

जबकी मृत्यु कसैको रहको विषय पक्का हुँदैन । आत्महत्याभित्र पनि गम्भीर समस्या वा कारण लुकेको हुन्छ । त्यही कारणलाई बेलैमा पहिचान गरेर मानिसलाई सहज जीवनयापनमा सहजिकरण गर्नुपर्छ ।

६. सरकारले जनताको आर्थिक समस्या समाधानका लागि विशेष प्याकेज ल्याउने, इन्टरनेटलाई व्यवस्थित बनाउने । नेपालमै भएका कतिपय आत्महत्याका घटनामा आर्थिक जटिलताका कारण गरेको देखिन आएको छ ।

तसर्थ सरकारले कुनै विशेष प्याकेज ल्याएर निम्न वर्गीय मानिसहरुलाई जीवनयापन गर्न थोरै ब्याजदरमा ऋणको व्यवस्था गर्ने, स्वदेशमै रोजगारीको सिर्जना गर्नेलगायतको कार्य गर्न सक्छ । त्यस्तै इन्टरनेटमा विभिन्न किसिमका सामाग्री उलपब्ध हुने गर्छन् ।

बर्जित सामाग्रीहरुलाई भने सरकारले व्यवस्थित गर्नुपर्ने हुन्छ । त्यसैगरी, स्वदेशमै रोजगारीको अवसर सिर्जना गराइँदा विदेशमा मानिसहरुको आत्महत्याको दर घट्ने देखिन्छ ।

समयमै सरोकारवाला निकायले आमा मानिसको जीवन रक्षाका लागि कार्य गरोस् ।

प्रतिक्रिया
सम्बन्धित