७ कार्तिक २०८३, शनिबार

‘नवलपरासीमा आफ्नै जग्गामा उद्योग व्यवसाय गर्न पाइएन’

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोहन पौडेल

परासी, २४ भदौ । वर्षाैँदेखि भोगचलन गर्दै आएको आफ्नो जग्गाको जग्गाधनी पूर्जा नहुँदा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को पहाडी क्षेत्रका बासिन्दाले आर्थिक गतिविधिबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

पूर्जा नहुँदा उद्योग व्यवसाय दर्ता गर्न, धीतो राखेर ऋण लिन, जग्गा किनबेच गर्न लगायत वित्तिय गतिविधि नै गर्न नपाएको उनीहरू बताउँछन् ।

कोभिड १९ को महामारीका कारण वैदेशिक रोजगार वा अन्यत्र जानुभन्दा आफ्नै गाउँमा कृषि, पशुपालन तथा अन्य उद्योग व्यवसाय गरेर स्वरोजगार बन्ने चाहना भएपनि नपाएको बर्दघाट–२ सुखौराका देवान गुरुङले बताए । गाउँमै उद्यम गर्न चाहेपनि पूर्जा बिना सम्भव नभएपछि अधिकांश युवाहरू अहिले विभिन्न शहरमा मजदुरी गर्न बाध्य रहेको गुरुङकाे भनाई छ ।

सुनवल नगरपालिका–११ तथा बर्दघाट नगरपालिका–२ मा पर्ने पहाडी बस्ती(साविक धुर्काेट गाविस–६, ७ र ८ )मा स्थानीयवासी विगत ४४ वर्षदेखि भोगचलन र बसोबास गर्दै आएपनि जग्गाको पूर्जा पाउन सकेका छैनन्

लामो समयको प्रयासपछि जग्गाकाे नापनक्सा गर्न नापी कार्यालय परासीले गतवर्ष नापी टोली खटाएपनि डिभिजन वन कार्यालयले सहमति नदिएपछि नापी कार्य नै रोकिएको वडाध्यक्ष दया दर्लामीले बताए ।

आफ्नो वडाको यो सबैभन्दा ठूलो समस्या रहेको उहाँको भनाई छ । उहाँका अनुसार जग्गाको स्वामित्व नहुँदा यस क्षेत्रका ५०० बढी घरधुरी वित्तीय कारोबारबाट बञ्चित हुनुपरेको छ ।

विसं २०३३ देखि नै स्थानीय बासिन्दाको पटक–पटकको प्रयासमा जग्गा नापी कार्य अघि बढेपनि पूरा नहुँदा समस्या भएको हो । विसं २०५४ मा नापी विभागका कर्मचारीले जग्गा नापी गर्दै संसारकोट पुगेकोमा तत्कालीन द्वन्द्वका कारणले असुरक्षा रहेको जनाउँदै फिर्ता गएका थिए । त्यसपछि जग्गा नापीको पहल नै भएको थिएन ।

सुखौरा, आम्बास, धुरकोटफेदी, बाँसखोला, पटुके, संसारकोट, पोखरीछापलगायतका गाउँका बासिन्दा जग्गाको स्वामित्वबाट बञ्चित छन् । उक्त बस्ती हाल नगरपालिकामा गाभिए पनि विकट मानिन्छ ।

विसं २०७० सम्म साविक धुरकोट गाविस हुँदा स्थानीयवासीले उक्त जग्गाको तिरो तिर्दै आएका थिए । यो जग्गा सुकुम्वासीअन्तर्गत नभई अव्यवस्थित जग्गा रहेको वडाध्यक्ष दर्लामीले बताए । बर्दघाट नगरपालिकाले यो समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।