काठमाडौँ, २३ भदौ । बैतडीको सिगासकी १७ बर्षीया बलात्कृत किशोरीको उद्धार गरिएको छ । ती किशोरीलाई प्रहरीले उद्धार गरेको हो ।
उनीमाथि विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक पटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले घटनाका बारेमा बुझ्ने काम भइरहेको र घटनामा संलग्न कसैलाई पनि नछोडिने बताएको छ ।
पीडित किशोरीसँगै उनका श्रीमान र एकजना दाजु समेत सदरमुकाम पुगेका छन् ।
बिहे गरेको ६ महिनामै किशोरीले बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको खुल्न आएको हो । पहिले गाउँमै मिलाउन खोजेकाले प्रहरी समक्ष ढिलो गरी आइपुगेको बताइएको छ ।
पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिने प्रहरीले जनाएको छ ।
किशोरीलाई शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलत्कार गरेको आरोप लागेको छ ।
आरोपित मध्ये खडक र रामसिंह बोहरालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए । अर्का आरोपितको खोजी भइरहेको जैशीले जनाए ।
किशोरीलाई ललाईफकाई गरेर करणी भएको भएपनि कानुन अनुसार कारवाही हुने प्रहरीको भनाइ छ ।















प्रतिक्रिया