परासी, २३ भदौ । बजारसम्म पुर्याउन नपाउँदा तयारी अवस्थामा रहेको केरा खेतमै कुहिन थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का कृषकहरू मर्कामा परेका छन् ।
भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा खेतमै कुहिन थालेको हो ।
कोभिड १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन् । स्थानीयस्तरमा उत्पादन भएका केराले बजार पाउन छोडेपछि यहाँका कृषकहरु निराश छन् ।
नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र निर्वाध रुपमा सवारीसाधन सञ्चालन हुन नपाउँदा कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रुपमा ढुवानी तथा विक्री वितरण हुन नपाएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।
बिक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उनले बताए ।
पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा रहेको छ । संघका अनुसार जिल्लामा वार्षिक दुई अर्ब बरावरको केरा उत्पादन हुने गरेको छ ।
नेपालका विभिन्न मुख्य शहरमा केरा जाने गरेपनि निषेधाज्ञाका कारण केराको ढुवानी र ओसारपसारमा असहजता पैदा भएको उनले बताएका छन् ।
पश्चिम नवलपरासीमा दुई हजार ५०० विघा क्षेत्रफलमा केरा खेती हुने गरेको छ । दुई हजार बढी कृषक व्यवसायिक केरा खेतीमा संलग्न छन् ।
उत्पादन भएको केरा स्थानीय बजारसहित पोखरा, काठमाडौं, नारायणगढ, धादिङ्, बुटवल लगायतका मुख्य शहरहरुमा पुग्ने गरेको छ ।
















प्रतिक्रिया