
हाल विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ ।
यस्तो विषम परिस्थितिमा जनताको आवश्यकताहरु पूरा गर्न सरकारका लागि कम चुनौतीपूर्ण छैन । केही युवा उद्यमीहरुले आफ्नो आधुनिक ज्ञान र शीपलाई सदुपयोग गर्दै सानो पूँजीबाट उद्यमशीलताको विकास गरिरहेका छन् ।
यसले रोजगार, स्वरोजगारसँगै नेपाली श्रम बाहिरी देशमा खेर जानबाट पनि रोकिरहेको छ । भविष्यमा पनि यसले थप महत्वपूर्ण भूमिका खेल्दै नेपाली श्रमशक्ति विदेशिने बाध्यताबाट मुक्ति दिँदै एउटा महत्वपूर्ण कोसेढुङ्गा बन्ने निश्चितप्रायः छ ।

अहिले कोरोना संक्रमणको स्थितिमा एकै स्थानमा धेरै जना जम्मा भएर किनमेल गर्दा जोखिम बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै विद्युतीय माध्यमद्वारा घरबाटै खरीद गर्दा जोखिम न्यूनीकरण हुने अनलाइन व्यापारमा धेरै युवा संलग्न छन् । यस्तो प्रकारको व्यापार महामारी नियन्त्रण र रोकथाम गर्न प्रभावकारी सिद्द भएको छ ।
नेपालका युवा अन्य देशका युवाजत्तिकै परिश्रमी र प्रतिभावान छन् भन्ने कुरामा दुई मत नहोला । यस्ता कुराहरुलाई आत्मसात गर्दै सरकारले अनलाइन व्यापारमा संलग्न युवाहरुलाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता छ ।
सरकारको विद्यमान नीति, नियम र स्पष्ट मार्गचित्र अनलाइन व्यापारका लागि वर्तमान आवस्थामा छिटो भन्दा छिटो नियम कानूनको निर्माण गरी युवा उद्यमीहरुलाई उनीहरुले गरेको उल्लेखनीय कार्यमा सहयोग र आवश्यक समर्थन गर्नुपर्छ ।
यस्ता प्रकारका व्यापार गर्ने सबैले सुरक्षाका सम्पूर्ण उपायहरुको पालना गर्नु पर्छ । जसले हामी सबैलाई कोभिड–१९ को महामारीबाट बच्न मद्दत गरोस् ।
अतः सरकारले अनलाइन व्यापारलाई हौसला प्रदान गर्न र उक्त व्यवसायमा संलग्न सबैको पीर, मर्कालाई मनन् गरी उनीहरुमा भएको जोश, जाँगर र आत्मविश्वासलाई सम्मान गर्नु अपरिहार्य हुन आएको छ ।
त्यसैले विद्यमान परिस्थितिमा अनलाइन व्यवसाय सान्दर्भिक छ, यसलाई निरुत्साहित होइन नियमन र व्यवस्थित गर्नु आजको मुल आवश्यकता हो । यसलाई सबैले मनन् गर्नु जरुरी छ ।
लेखक पालिखे नेप्लीज योङ इन्टरप्रेनर्स फोरमका अध्यक्ष हुन् ।













प्रतिक्रिया